गण्डकीका मुख्यमन्त्री नेपालीसँग ४० लाख ऋण, अरु मन्त्रीको कत्ति छ ऋण ? (हेर्नुहोस् विवरण)

0 Shares

पोखरा,१० भदौ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित ९ जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरण पढ्दै जाँदा जो कोहीले जिब्रो टोकिने स्थिति देखिन्छ । सार्वजनिक भएको सम्पत्ति विवरणमा मुख्यमन्त्रीसहित मन्त्रीहरुको ऋणको भारी देखिन्छ भने एक जना मन्त्री भने ऋणदाता देखिन्छन् । उनले अरुलाई ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्रीको सम्पत्ति र ऋण कति ?
सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री नेपालीसँग ४० लाख बैंकको ऋण छ भने करोडौँको सम्पत्ति पनि जोडिएको देखिन्छ । उनको श्रीमतीको नाममा १ करोड ५० लाखको घर निर्माण गरिएको उल्लेख छ जुन पैतृक सम्पत्तिबाट प्राप्त भनिएको छ ।

हाल मुख्यमन्त्री नेपालीको एभरेष्ट बैंकमा तलबवापत् ५ लाख रुपैयाँ, ५ तोला सुन, बैंकबाट ऋण लिएर १५ लाखमा जग्गा खरिद, कृषि विकास बैंकबाट २५ लाख ऋण भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।

पोखरेलले काठमाडौं, तनहुँ, नवलपुरमा जग्गा भएको विवरण पेस गरेका छन्।

कानुनमन्त्रीको ऋण पनि, धन पनि
कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाको बैंकमा ३० करोड रुपैयाँभन्दा बढी ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।तर, उनको नाममा ऋणमात्र नभएर बैंकहरुमा नगद १० करोड रुपैयाँ पनि रहेको देखिन् छ। उद्योगी व्यवसायीसमेत रहेको मन्त्री थापाले उद्योग व्यवसायकै सन्दर्भमा बैंकहरुबाट ऋण लिएको देखिएको छ । सबै सम्पत्ति जोड्ने हो भने उनीसँग अर्बको सम्पत्ति रहेको आँकलन गर्न सकिन्छ ।

उनी र उनका २ श्रीमती राधा र मनलक्ष्मी थापाका नाममा पोखरा दर्जनभन्दा बढी ठाउँमा जग्गा रहेको देखिन्छ । उनीसँग ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हीरा सम्पत्ति रहेको थापाको विवरणमा उल्लेख छ।

मन्त्री थापाले होटल, ट्रेड मल लगायतमा रहेको लगानी पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

krishna chandra nepali

कानुन मन्त्रीजस्तै शिक्षा मन्त्री पनि

कानुनमन्त्रीजस्तै शिक्षा मन्त्री मेखलाल श्रेष्ठसँग पनि ७ करोड ९० लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा देखिन्छ। उनीसँग हाल १५ लाख रुपैयाँ नगद जम्मा भएको देखिन्छ ।

उनीसँग हाल १ किलो सुन, काठमाडौं र स्याङ्जाका ६ ठाउँमा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।

पर्यटन मन्त्रीसँग २ करोड ६७ लाख ऋण

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसँग २ करोड ६७ लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख छ। तर, उनले ऋण भए पनि जग्गा जोडेका छन् । उनको बागलुङ, चितवन र रुपन्देहीमा जग्गा छ ।
बागलुङमै ४८ लाख ५० हजारमा किनेको घर पनि छ। हाल उनीसँग २५ तोला सुनलगायत अन्य थुप्रै सम्पत्ति जोडेको सम्पत्ति विवरण देखिन्छ ।

पद अर्थमन्त्री, ऋण १ करोड
अर्थमन्त्री रामजी बरालसँग १ करोड रुपैयाँ ऋण रहेको देखिन्छ भने एभरेस्ट बैंकमा ३ लाख रुपैयाँ नगद जम्मा रहेको देखिन्छ। उनको ऋणसँगै पोखराका २ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा देखिन्छ।

वनमन्त्री : ६१ लाख ऋण

यता, वन तथा वातावरण मन्त्री दीपक थापा मगरसँग पनि साढे ६१ लाख रुपैयाँ ऋण रहेको सम्पत्ति विवरणमा देखिन् छ। उनले स्याङ्जा र पोखरामा जग्गा भएको र ३० तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् ।

ऊर्जामन्त्री : ऋण घटाएर ४० लाख

ऊर्जा तथा सिँचाइ मन्त्री हरिशरण आचार्यले आफूले लिएको ५० लाख रुपैयाँ ऋणमध्ये १० लाख घटाएर ४० लाख ऋण बाँकी रहेको सम्पत्ति विवरणमा देखाएका छन् । हाल उनीसँग ८ तोला सुन र गोरखामा अमूल फर्निचर उद्योग, पुर्ख्यौली घरजग्गा गोरखामा बुवाको नाममा जग्गा रहेको विवरणमा उल्लेख छ।

ऋण दिने भौतिक मन्त्री
भौतिक मन्त्री कुमार खड्कासँग भने कुनै ऋण छैन । बरु उनले उल्टै ८५ लाख रुपैयाँ अरुलाई ऋण दिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।अहिले उनीसँग पोखरामा घरजग्गा, श्रीमती कल्पनाका नाममा १ करोड रुपैयाँभन्दा बढी नगद, सुन ९५ तोला रहेको छ ।

स्वास्थ्यमन्त्री : ३ तोला सुन र ८ लाख ६० हजार नगद जम्मा

स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङसँग सहिद परिवार स्वरुप पाएको राहत रकमबाट चितवन र मकवानपुरमा जग्गा जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग अहिले लमजुङ दूधपोखरीमा घर, ३ तोला सुन र ८ लाख ६० हजार नगद जम्मा गरेको विवरणमा उल्लेख छ ।

यी हुन् सम्पत्ति विवरण नबुझाउने मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरे पनि युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भनिने राजीव गुरुङ र कृषिमन्त्री चन्द्रबहादुर बुढाले सम्पत्ति विवरण उपलब्ध गराएको देखिँदैन । गण्डकी प्रदेश सरकारको आचारसंहितामा मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ। साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रावधान छ।

तर, उनीहरु दुवैले आचारसंहिता मिच्दै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

यो समाचार न्यूज २४ नेपाल डटटिभीमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया