काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर नयाँ दल दर्ता गर्नुको भित्री उदेश्य खुलाउनु भएको छ । दल दर्तापछि आज पहिलो पत्रकार सम्मेलन गरी अध्यक्ष नेपालले एमाले छाडनुको कारण दिनुभएको हो ।
अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस गठबन्धनलाई बलियो बनाउन आफूहरुले दल दर्ता गरेको खुलासा गर्नुभयो । देउवा सरकारमा आफ्नो पार्टी चाँडै सरकारमा सहभागी हुने औपचारिक घोषणा गर्दै नेपालले सोही कामका लागि नयाँ दल आवश्यक परेको बताउनु भयो । केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूणर्ता दिने र आफूले मन्त्री बनाउनका लागि खोलेको दलबाट सिफारिश गर्ने नेपालको भनाई छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध गालीगलौज नै आफ्नो पार्टीको नीति रहेको जसरी प्रस्तुत हुनुभयो । पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भई पार्टको राजनीतिक मार्गदर्शन ओलीबिरुद्ध गालीगलौज रहेको तथ्य उजागर गर्नुभयो । देउवा सरकारका लागि एमाले छाडनुभएका अध्यक्ष नेपालले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप लगाउनु भयो ।
उहाँले एमालेसँग पार्टी एकताको सम्भावना जीवितै रहेको भन्न भने छाडनु भएन । ‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुने छ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ ’, नेपालले भन्नुभयो, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ।’