सरकारको उपलब्धी : पहिलो महिनामै एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा

0 Shares

काठमाडौं, ११ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपाललाई एक खर्ब २९ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु नेपाल आएको छ ।

यो गएको वर्षको साउनको तुलनामा ७५ दशमलव ६६ प्रतिशतले धेरै हो । डेढ खर्ब रुपैयाँको आयात भए पनि साउन महिनामा निर्यात भने २० अर्ब ७६ करोड रुपैयाँको मात्रै भएको छ । तर गएको वर्षको साउनको तुलनामा निर्यात एक सय १५ प्रतिशतले बढेको छ ।साउनमा व्यापार घाटा एक खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

यो गएको वर्षको साउन महिनाको भन्दा ७० दशमलव ५९ प्रतिशतले धेरै हो । साउन महिनामा नेपालमा ६ अर्ब ७० करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ ।

यस्तै एकै महिनामा चार अर्ब ११ करोड रुपैयाँको तरकारी, तीन अर्ब २० करोड रुपैयाँको फलफूल र एक अर्ब १८ करोड रुपैयाँको चियारकफी आयात भएको छ । साउनमा तीन अर्ब १९ करोड रुपैयाँको औषधि आयात भएको छ । एकै महिनामा १० अर्ब १४ करोड रुपैयाँका गाडी, पाटपुर्जा, रेलका उपकरण र १२ अर्ब २३ करोड रुपैयाँका विद्युुतीय र मेशिनरी सामानको आयात भएको छ ।

तपाईको प्रतिक्रिया