काठमान्डौ,११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उठ्ने गरी सम्पर्क कार्यालय खोलेका छन्।
काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा शुक्रबार निधिले शुभ साइत हेराएरै सम्पर्क कार्यालय खोले। निधिलाई पशुपतिनाथ लगायत विभिन्न मन्दिरका पूजारीहरूले समेत आशिर्वाद दिएका थिए- सभापतिमा विजय प्राप्तिका लागि!
मन्दिरहरूका पूजारी, मस्जिदका मौलाना र गुम्बाका लामाहरू निधिले सम्पर्क कार्यालय खोल्दा उपस्थित रहेका थिए। सनातन धर्मअनुसार पूजापाठ गरेर आज बिहान ९ बजेदेखि आफूले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको निधिले बताए।
निधिले बैंक्वेट नै भाडामा लिएर कार्यालय खोलेका हुन्। जहाँ पुराना नेताहरूका फोटा सजाइएका छन् भने सातै प्रदेशका लागि बेग्लाबेग्लै कोठा पनि छ। निधिकाअनुसार आज २१ ताराको पूजा पनि गरियो, यसो गरिनु राम्रो भएको निधिले कार्यक्रममै बताए। निधिलाई ज्योतिष र पञ्चाङ्ग निणर्ायक समितिका सदस्यले पनि शुभकामना दिएका रहेछन्, सभापतिमा उठ्नका लागि।
निधिले कांग्रेस सभापतिमा उठ्ने तयारी गरेको एक वर्षभन्दा धेरै भइसक्यो। यसबीचमा उनले सभापति शेरबहादुर देउवालाई नै तीन पटकसम्म भेटेर आफू सभापति उठ्ने र सहयोग गर्न भनेका थिए। देउवाकै समर्थनमा सभापति उठ्ने निधिको चाहना थियो।
सभापतिमा देउवाले आफू नै अब एक कार्यकाल उठ्ने भनेपछि निधिले अब देउवाको बाटो हेर्न छाडिदिएका छन्। उनले सम्पर्क कार्यालय खोलेर पनि यो कुरालाई थप पुष्टि गरेका छन्।
लअभिि ष्ल
निधिले आज औपचारिक रूपमा आफू सभापति उम्मेदवार भन्ने कुरा घोषणा भने गरेनन्। यतिमात्र भने- केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने तयारी गरेको छु।
थापागाउँस्थित बानेश्वर बैंक्वेटको झकिझकाउ हेर्दा आजै निधिले सभापतिमा उम्मेदवारी घोषणा गर्ने आकलन गरिएका थिए। कोरोना महामारीबीच पनि नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
केन्द्रीय सदस्य चन्द्र भण्डारी, महेन्द्र यादवलगायत कार्यक्रम स्थल पुगेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरू नुवाकोटका जगदीश्वरनरसिंह केसी, धादिङका रमेश धमला, काभ्रेका मधु आचार्य, सुर्खेतका कमलराज रेग्मी, संखुवासभाका दीपनकुमार श्रेष्ठ, सभापति देउवाकै गृह जिल्ला डडेलधुराका सभापति कणर् मल्ल पनि निधिले सम्पर्क कार्यालय खोल्दा पुगेका थिए।
निधि सभापति पदमा उठ्दा आज कार्यक्रममा आएका जिल्ला सभापतिहरू र केन्द्रीय सदस्यहरूले साथ दिन्छन् कि दिँदैनन् अहिले नै खुलेको छैन। तर उनीहरूले उपसभापति निधिको निम्तो भने स्वीकार गरेर कार्यक्रममा आइपुगेका थिए।
निधिले सोमबारदेखि यो कार्यालयमा भेटघाट गर्नेछन्।
उनले दिउँसो २ बजेपछि प्रत्येक दिन नेता तथा कार्यकर्तासँग भेटघाटका लागि समय छुट्याइएको बताए। महाधिवेशन केन्द्रित छलफल गर्न आउन उनले आठ लाख ५२ हजार कांग्रेस क्रियाशील सदस्य र शुभेच्छुकलाई निम्तोसमेत दिएका छन्।
उपसभापति निधिको गृहजिल्ला धनुषा हो। पार्टीभित्र प्रदेश नम्बर २ का ८ जिल्लामा उनको विशेष पकड रहेको चर्चा हुन्छ। तर आज कार्यक्रममा धनुषा सभापतिबाहेक अरू जिल्लाका कांग्रेस सभापति देखिएनन्।
बरू निधिलाई साथ दिन प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलगायत नेता र प्रदेश सांसदहरू आइपुगेका थिए।
निधिले सम्पर्क कार्यालय सुरू गर्दा आज बिपीलाई पनि सम्झिएका थिए। बिपीकै जोडबलमा उनी २०३७ सालमा नेविसंघको सभापति सर्वसम्मत चुनिएका थिए। २०२७ सालमा शेरबहादुर देउवा नेविसंघ सभापति भएपछि १० वर्षसम्म नेतृत्व हस्तान्तरण भएको थिएन।
जब जनकपुरमा नेविसंघको महाधिवेशन भयो तब निधि नै देउवाको उत्तराधिकारीका रूपमा उदाए- २३ वर्षकै कलिलो उमेरमा। निधि कांग्रेस नेता महेन्द्रनारायण निधिका छोरा हुन्। निधिसँग विरासतसँगै आफैँले तय गरेका बाटा छन्, नेविसंघदेखि लागेकोले देशैभर समर्थक र सहयोगीहरू पनि छन्। उनीहरू निधिलाई कांग्रेस नेतृत्वमा पुगेको हेर्न चाहन्छन्।
निधि नेविसंघ सभापति हुँदादेखि नै उनीनिकट रहेका कांग्रेस नेता पुरूषोत्तम दाहालले विचार र नेतृत्वमा ’भिजन’ भएका निधि नै सभापतिका लागि उपयुक्त उम्मेदवार हुने बताए।
निधिले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सफल हुने पनि विश्वास व्यक्त गरेका छन्।
‘कसैलाई पराजित गर्न र असक्षम घोषित गर्न म सभापति उम्मेदवार बन्न खोजेको होइन। पार्टीलाई बहुमतप्राप्त गराउन र एकतावद्ध बनाएर लैजान मेरो उम्मेदवारी हो,’ निधिले भने।
उपसभापति निधिले नेतृत्व हस्तान्तरणका कुरा पनि उठाएका छन्।
२०७२ मा १३ औं महाधिवेशनका बेला देउवालाई सघाएका निधिले अर्कोपटक देउवाले आफूलाई सभापतिमा सघाउने अपेक्षा लिएका थिए। तर देउवाले निधिलाई यो महाधिवेशनमा साथ दिने सुर गरेनन्, त्यसपछि निधि आफ्नो बाटो हिँडेका छन्।
निधिले सभापतिमा देउवाको साथ खोजेका थिए। पछिल्लो भेटमा उनले प्रधानमन्त्रीसमेत रहेका देउवालाई सम्पर्क कार्यालय उद्घाटन गर्न निम्तो दिएका थिए तर देउवाले आफैँ सभापतिमा उठ्ने प्रतिक्रिया दिएर निधिको मन दुखाएका छन्।
निधिले कस्तो टिम बनाउँछन् भन्ने अहिले खाका बनिसकेको छैन। तर उनले अब नेतृत्व युवा पुस्तामा जानुपर्ने बताए। युवालाई नेतृत्वमा ल्याउन सहजीकरण गर्ने भूमिका आफूले खेल्ने निधि बताउँछन्।
‘कांग्रेसको संगठन संरचनामा पनि युवा पुस्ता आउनुपर्छ। युवा पुस्ता कांग्रेसमा आउन सकोस् र युवाले देशको नेतृत्व गर्न सकोस् भनेर म सहजकर्ताको भूमिका निर्वाह गर्न सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गरेको हुँ,’ निधिले भने।
आफ्ना कुरा टुंग्याउनुअघि निधिले गुटभन्दा माथि उठ्न नेता तथा कार्यकर्तामा अपिल गरेका थिए। निधि सभापति उठ्न कम्मर कसेर लागेपछि अब यसले सभापति देउवालाई अरू नेतालाई भन्दा केही धक्का लाग्नेछ।
सभापति देउवालाई ५ वर्षअगाडि सभापति पदमा उम्मेदवार हुँदा उनको टिमले एकल सभापति उम्मेदवारका रूपमा अगाडि सारेको थियो। यसपटक देउवा समूहकै निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले देउवालाई सभापतिमा चुनौती दिने गरी अघि बढेका छन्।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट पौडेल वा अरू को उम्मेदवार बन्छ अहिले नै टुंगिएको छैन। भदौ १८ मा हुने वडा अधिवेशनअगाडि आफ्नै टिमबाट सहमतिमै एक जना सभापतिको उम्मेदवार तय गरी एकताको सन्देश दिनेमा पौडेल छन्।
पौडेलसहित उनी पक्षका शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला पनि सभापतिका लागि आकांक्षी छन्। यीमध्ये शेखर १३ औं महाधिवेशनबाटै १४ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै देशैभर नेता तथा कार्यकर्ता भेट्दै हिँडेका थिए।
सेतोपाटी