विराटनगर, १६ भदौ । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले बुधबार एकीकृत समाजवादीमा सनाखत गरेका छन् । राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका हुन् ।
सांसद राजेन्द्र राईले १० जनाले एकीकृत समाजवादी रोजेको जानकारी दिनुभयो । १० जनाले नयाँ पार्टी रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् ।
माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ ।
९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए । १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् । प्रदेश १ मा नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।