विराटनगर, १६ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यलाई नैतिकताका आधारमा जिम्मेवारी छाड्न आग्रह गर्नुभएको छ । गत बिहीबार मुख्यमन्त्री नियूक्त हुनुभएका आचार्य बुधबार नेकपा एमालेका १० जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि अल्पमतमा पर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले अल्पमतमा पर्नुभएको र उहाँले पद नछाडे विपक्षी गठबन्धनले हटाउने राईले बताउनुभयो । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यलाई नैतिकताका आधारमा पद छाड्न राईले आग्रह गर्नुभएको हो ।
बुधबार प्रदेश निर्वाचन कार्यालयमा दल सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुख्यमन्त्रीको राजीनामाका लागि १–२ दिन पर्खिने बताउनुभयो । ‘अल्पमतमा परेको उहाँहरुलाई पनि थाहा भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘नैतिकताको आधारमा छोड्नुहुन्छ भनेर १–२ दिन प्रतिक्षा गर्छाै ।’
प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सांसद थिए । तीमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।
बुधबार निर्वाचन कार्यालय पुगेर नेकपा एमालेका सांसद राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ,पदमकुमारी गुरुङ, सुनिता चौधरी,सरिता थापा र कृष्णकुमारी राईले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सांसद राईले प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धको नयाँ सरकार बन्ने र त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टीले गर्ने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले भने आफू संविधान अनुसार चल्ने बताउनुभएको छ । नेकपा एमालेका १० सांसदले एकीकृत समाजवादी दल रोजेपछि बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधान अनुसार चल्ने बताउनुभयो ।