मन्त्रालयले उपलब्ध गरायो खोटाङलाई तीन करोड बढीको स्वास्थ्य सामग्री

Halesi Khabar
0 Shares

खोटाङ, १६ भदौ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङका लागि कोभिड–१९ को महामारी विरुद्ध उपयोग हुने करोडौँको स्वास्थ्य सामग्री जुटाइएको छ । नेपाली काँग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोमथाम तथा नियन्त्रणमा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जुटाइएको अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टीजेन किट, गाउन सेट, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री बुधबार काँग्रेस महासमिति सदस्य राई र संविधानसभा सदस्य एवम् महासमिति सदस्य सरस्वती बजिमयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट दश हजार वटा एन्टीजेन किट, ५० वटा पल्स अक्सिमिटर, ५० लिटर क्षमताको २५ वटा अक्सिजन सिलिण्डर र १०० वटा नजल अक्सिजल ट्यूव ल्याइएको छ ।

यस्तै, ७०० वटा कोभिड गाउन सेट, ३०० जोडी कोभिड सुज कजर, ५० वटा डेथबडी ब्याग, ३०० वटा कोभिड फेसशिल्ड, २५ लिटर ह्याण्ट सेनीटाइजर, ५०० जोडी कोभिड ग्लोभ्स, आठ हजार वटा कोभिड मास्क, ५०० वटा केएन ९५ मास्क र ३०० वटा सर्जिकल मास्क ल्याइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलका अनुसार काँग्रेस नेताको पहलमा करीब रु तीन करोडको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा पु¥याउनेगरी स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको महासमिति सदस्य राईले बताउनुभयो । “हामी राजनीतिक भेटघाटका क्रममा खोटाङका गाउँ–गाउँमा पुग्यौँ, कोभिडबाट नागरिक छट्पटाइरहेका पायौँ”, उहाँले भन्नुभयो, “अक्सिजन नपाएर नागरिकले कष्ट खेप्न बाध्य थिए । कतिले ज्यान गुमाउनु प¥यो । त्यही दृष्टान्टलाई मध्यनजर गर्दै काठमाडौँ पुगेकोबेला स्वास्थ्य सामग्री ल्याउन पुलको काममात्र गरेका हौँ ।”

मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री ढुवानी खर्च आफैले जुटाएर काठमाडौँबाट दिक्तेल ल्याइएको महासतिति सदस्य राईले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा आयोजना गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, काँग्रेस महासमिती सदस्य कमला राई लगायतको उपस्थिति रहेको थियो ।

काँग्रेसजन महाधिवेशनमा होमिएको बेला महासमिति सदस्य राई दुई गाडी स्वास्थ्य सामग्री लिएर जिल्ला आउनुभएको थियो । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ ।

स्वास्थ्य कार्यालयको माग एवम् जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

मन्त्रालयले उपलब्ध गराएको रु तीन लाख ९९ हजार ८३३ र १ नं. प्रदेश सामाजिक विकास मन्त्रालयबाट रु तीन लाख सात हजार १३० बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । प्रदेश तथा सङ्घीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री जिल्लाका दशवटै स्थानीय तहमा वितरण गरिएको जनाइएको छ ।

हालसम्म निशेधाज्ञा नगरिएको खोटाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८४२ जना पुगेको छ । जसमध्ये निको भएकाको सङ्ख्या दुई हजार ७३३ र सक्रिय सङ्क्रमित १३९ रहेका छन् ।

सङ्क्रमितमध्ये १२ जनाले ज्यान गुमाएको जिल्लामा अहिलेसम्म २६ हजार ७४६ जनाले पहिलो मात्रा र ११ हजार २७७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न ठाउँगरी २३४ शय्याको संस्थागत आइसोलेशन तयारी भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेशनमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया