खोटाङ, १६ भदौ । पन्ध्र शैय्यामा सञ्चालित जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु गरिएको छ । वि.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्नका लागि पुरानो भवनहरु हटाएर नयाँ भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको हो ।
अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, डेलीभरी (सुत्केरी गराउने ठाउँ) कक्ष, शल्यक्रीया कक्ष, इमरजेन्सी (आकस्मिक) कक्ष लगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको जिल्ला अस्पताल खोटाङका प्रमुख चिकित्सक डा. बैभव मल्लिकले बताउनुभयो । ४० मिटर लम्बाई र २०.५ मिटर चौडाई हुने चार तले आरसिसि पक्की भवन निर्माणको जिम्मा ठेकेदार कम्पनी श्यामसुन्दर÷रामसुन्दर नेपाल÷फूलबारी जेभीले लिएको छ ।
सङ्घीय सरकारको करीब रु २१ करोडको लागतमा ३० महिनाभित्र भवन निर्माणको काम सक्नेगरी गत असारमा अस्पतालको भवन निर्माणको ठेक्का सम्झौता गरिएको निर्माण कम्पनीका इन्जिनियर राजकिशोर साहले बताउनुभयो । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उपचार सेवालाई निरन्तरता दिनका लागि पुरानो भवन भत्काउनुअघि नजिकै प्रि–फ्यावको अस्थायी भवन निर्माण शुरु गरिएको छ ।
चार तले पक्की भवनको पहिलो तलामा ओपिडि कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्यूरिटी रुम लगायतका संरचना निर्माण गरिने जनाइएको छ । दोस्रो तलामा प्रसुति सम्बन्धी सेवा तथा पसुति सम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण गरिने प्राविधिक स्टिमेटमा उल्लेछ छ ।
जिल्लाको एकमात्र सरकारी अस्पताललाई सुविधायुक्त बनाउन स्तरोन्नतिको काम शुरु गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “सुविधायुक्त अस्पताल नहुँदा जिल्लाका कतिपय बिरामी चर्को मुल्यमा हेलिकोप्टर चार्टर गरेर अन्यत्र उपचारमा जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा सबै किसिमका बिरामीलाई जिल्लामै सेवा उपलब्ध गराउनेगरी अस्पताल स्तरोन्नतिको काम शुरु गरिएको हो ।”
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पुरानो संरचनाका भवनमा सञ्चालित अस्पतालमा शय्या अभावकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीहरु नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।
स्थापना कालकै भवन तथा आवास गृहहरुमा सञ्चालित जिल्ला अस्पताल खोटाङमा तोकिएको समयसम्म चिकित्सकहरुसमेत बस्दैनन् । अस्पतालमा चिकित्सकहरुका लागि आवश्यक सुविधा तथा बस्ने वातावरण नभएकै कारण उनीहरु तोकिएको अवधिसम्म नबसेको समाचार स्रोतको दाबी छ ।
अस्पतालमा बसेका चिकित्सकहरुलाई बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुले बताएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन् । जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँ लगायतका सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।
विभिन्न कारणले स्वास्थ्य समस्या झेल्दै आएका जिल्लाबासी ढिलै भएपनि १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने काम शुरु भएपछि हर्षित भएका छन् । ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि सेवासुविधासमेत थप हुने अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सञ्चालन हुँदै आएको छ । विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका हङ्कङ तथा बेलायतमा रहेका खोटाङ्गेहरुले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराएका छन् ।