काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधार्न आफ्ना दूत पठाएपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलको नेता ओलीलाई भेट्न देउवाले कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि गठबन्धनका दल सशंकित बनेको हो ।
एमालेसँग सम्बन्ध सुधार गर्न खोजेको बुझेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल चिढिएका बुझिएको छ । यसै क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तार सम्बन्धी छलफल भएको जनाइएको छ । प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीलाई समेटेर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।