काठमाडौँ, १८ भदौ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा काँग्रेसको उपस्थिति बलियो रहने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताउनुभयो ।
केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिनुभयो । भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने दावी गर्नुभएको थियो ।
बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिनुभएको थियो । तर, बस्नेतकै निर्वाचन क्षेत्रमा काँग्रेसको वडा अधिवेशन उद्घाटन समारोहमा देउवाले काँग्रेस सशक्त ढङ्गले अघि बढिसकेको बताउनुभयो ।
“पार्टीले महाधिवेशनको प्रक्रिया सुरुवात गरेसँगै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्दै पार्टी थप सशक्त ढङ्गले अघि बढ्ने छ”, उहाँले भन्नुभयो, “बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।”
सभापति देउवाले महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । आज देशभर काँग्रेसको वडा अधिवेशन भइरहेको छ ।