खोटाङ, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ । केन्द्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट बिद्रोह गरेर वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को शनिबार दिक्तेलमा पार्टी कार्यालय स्थापना गरिएको हो ।
दिक्तेलस्थित पुरानो बेशक्याम्पमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी)का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै संयोजक राईले एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गर्नुभयो ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सत्तागठबन्धनमा आवद्ध जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले नवगठित पार्टीका पदाधिकारीलाई शुभकामना दिएका छन् । नेकपा मालेका पोलिट ब्यूरो सदस्य एवम् पूर्व सांसद कुलप्रसाद फुयाँल, नेपाली काँग्रेसका नेतृ डिल्लीकुमारी आयाचार्य, नेकपा (माओवादी केन्द्र)का युवा नेता विसन राई, जनता समाजवादी पार्टी नेपालका १ नं. प्रदेश सदस्य सूर्यबहादुर राई लगायतका नेताहरुले शुभकामना दिनुभएको हो ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमाले बाहेक जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्टी कार्यालय उद्घाटनसँगै नेकपा (एकीकृत समाजवादी) खोटाङको पहिलो बैठकसमेत शुरु भएको छ ।
बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाका बारेमा छलफल भइरहेको सचिवालय सदस्य एवम् युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईले जानकारी दिनुभयो । पार्टी कार्यालयमा जारी बैठकले ६१ नयाँ सदस्यीय जिल्ला कार्य समिति चयन गर्ने र ४० प्रतिशत युवाको सहभागिता रहनेसमेत गठन गर्ने समाचार स्रोतले जनाएको छ ।
एमालेको वि.सं. २०७२ वैशाख १०–१४ गतेसम्म भएको छैटौँ जिल्ला अधिवेशनबाट निर्वाचित ५९ जना जिल्ला समितिमध्येबाट जिल्ला अध्यक्ष बबि चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आवद्ध भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सातजना जननिर्वाचित वडाध्यक्षहरुसमेत आफ्नो पार्टीमा आवद्ध भएको नेकपा (एकीकृत समाजवादी) खोटाङका जिल्ला सचिव जलशेर राईले जानकारी दिनुभयो ।
नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने, एमालेमै रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटामा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहनुभएको भने, प्रदेशसभा सदस्य राजन राई नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुनुभएको छ । एमाले विभाजन भएपछि जिल्लामा दुवै पक्षले आफ्नो पक्षमा पकड जमाउन कार्यकर्ता तानातान गरिरहेका छन् ।