काँग्रेस खोटाङको ७६ वडामा अधिवेसन टुङ्गियो, तीनवटाको बाँकी

Halesi Khabar
0 Shares

खोटाङ, १९ भदौ । नेपाली काँग्रेस खोटाङको ७६ वडामा वडा अधिवेशन टुङ्गिएको छ भने तीनवटामा बाँकी रहेको जनाइएको छ । काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तरगत जिल्लाको ७९ वडामध्ये ७६ वडाको वडा अधिवेशन मतदान एवम् सर्वहमतीय प्रणालीबाट टुङ्गिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा ६९ वडामा सर्वसहमत र सातवटामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको काँग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिवेशन विवादका कारण स्थगित गरिएको जनाइएको छ ।

निर्मलीडाँडामा शुक्रबारको लागि आयोजना गरिएको वडा अधिवेशनमा वडा सभापतिका उम्मेदवारहरुबीच सहमति नहुँदा हात हालाहालसमेत भएको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार अधिवेशनमा खटिएका सुरक्षाकर्मी र पर्यवेक्षकको सक्रियताले ठूलो क्षति हुनबाट जोगाएका छन् ।

वडाध्यक्षका आकांक्षीहरुको मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेशन गर्नेगरी स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताउनुभयो । वडाध्यक्षका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको मत गणना विवाद भएपछि तीन÷चार घण्टादेखि रोकिएको छ । यस्तै सोही गाउँपालिकाको वडा नं.–७ टेम्माको वडा अधिवेशन निर्वाचनका माध्यमबाट टुङ्ग्याउने भनिए पनि अहिले सर्वसहमतिको प्रयास भइरहेको काँग्रेस खोटाङले जनाएको छ ।

सहमति नजुट्दा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुङ्देल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुङ्ग्याइएको सचिव जोशीले बताउनुभयो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा काँग्रेसको छ हजार ८०० क्रियाशील सदस्य छन् । काँग्रेसको वडा अभिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

काँग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ । वडा अधिवेशनमा हार्ने नेताहरुको राजनीतिक अस्तित्व नै समाप्त हुने भएकाले पनि जोडबल हुने गरेको हो ।

यसैबीच, काँग्रेस खोटाङमा छ जना जिल्ला सभापतिको आकांक्षी देखिएका छन् । आकांक्षी धेरै देखिएपनि अधिवेशनसम्ममा संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा) र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्दा हुने समाचार स्रोतको दाबी छ ।

काँग्रेस खोटाङको वर्तमान सभापतिमा पौडेल खेमाका नरेशकुमार श्रेष्ठ हुनुहुन्छ । जिल्लाका संस्थापन पक्षबाट वर्तमान सभापति श्रेष्ठ वा पूर्व सभापति विष्णुकुमार राईमध्ये एकजना तथा देउवा खेमाबाट महासमिति सदस्य एवम् नेपाल सरकारका पूर्वराज्यमन्त्री सर्वधन राईबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्लामा नेतृत्व चयनका लागि अन्तिम समयसम्म सर्वसहमतिको प्रयास गरिने र सर्वसहमतिमा नटुङ्गिए निर्वाचनमार्फत नेतृत्व छनोट गरिने जिल्ला सचिव जोशीले बताउनुभयो । जिल्लामा सर्वसहमतिको प्रयास गर्ने भनिएपनि काँग्रेस नेताहरुबीच जोडघटाउ शुरु भइसकेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया