खोटाङ, २० भदौ । नेपाली काँग्रेस खोटाङले एउटा वडाबाहेक अन्यमा वडा अधिवेशन सम्पन्न गरेको छ । ७९ वडा रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाबाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको हो ।
७० वडामा सर्वसम्मत र आठ वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि निर्मलीडाँडाको वडा अधिवेशन अनिस्चितकालका लागि स्थगित गरिएको छ ।
शुक्रबार आयोजना गरिएको वडा अधिवेशनमा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमति गरेर वडा अधिवेशन गर्नेगरी स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताउनुभएको छ । निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान सभापति देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा शनिबार बिहान मतगणनाको क्रममा विवाद आएपछि साँझ पुनः गणना गरिएको थियो । विवादका कारण दिनभर राकिएको मत गणना मतदान अधिकृतले राति १ः१८ बजे नतिजा सार्वजनिक गरेको हो ।
याम्खामा लक्ष्मीकुमार राईलाई पराजित गर्दै अर्का उम्मेदवार रामचन्द्र राई वडा सभापतिमा निर्वाचित हुनुभएको काँग्रेसले जनाएको छ । लक्ष्मीकुमारको प्यानलले भने मत परिणामलाई अस्वीकार गरेका छन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् काँग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई र नेविसङ्घका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको थियो । गाउँपालिका प्रमुख राईले रामचन्द्रलाई र नेविसङ्घका जिल्ला उपाध्यक्ष राईको टोलीले लक्ष्मीकुमारलाई वडा सभापतिको उम्मेदवार बनाउनुभएको थियो ।
नेविसङ्घका उपाध्यक्ष राईले एकलौटी मत परिणाम घोषणा गरिएको आरोप लगाउनुभएको छ । गाउँपालिका प्रमुख राईले भने हार हुने निश्चित भएपछि मत मतपत्रको विषयमा विवाद झिकिएको बताउनुभएको छ ।
जिल्ला तहका नेताले सर्वसहमतिको प्रयास गरेपनि आपसी विवादका कारण सहमति नजुट्दा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुङ्देल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदान भएको काँग्रेसले जनाएको छ । काँग्रेसका छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसहमत वडा अधिवेशन सम्पन्न भएको छ ।
काँग्रेसको वडा अधिवेशनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । दश स्थानीय तह रहेको जिल्लामा तनावबीच काँग्रेसले निर्मलीडाँडा बाहेक अन्य वडामा अधिवेशन सम्पन्न गरेको हो ।