माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल

Halesi Khabar
0 Shares

काठमाडौँ, २० भदौ । दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ । राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले एक हजार ९०० मेगावाट विद्युत उत्पादन भैरहेको छ ।

अहिले यो आयोजनाबाट ३८० मेगावाट व्यवसायिक र ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको छ । नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत उत्पादन क्षमता एक हजार ९०० मेगावाट पुुगेको जानकारी दिएको छ ।

हाल नेपालमा एक हजार ५०० मेगावाट विद्युत खपत भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “नेपालको कूल खपतभन्दा ४०० मेगावाट बढी भएको हो”, उहाँले भन्नुभयो, “नेपालको विद्युत उत्पादन क्षमता एक हजार ३५० बाट बढेर १९०० मेगावाटसम्म पुगेको छ । गत आर्थिक वर्ष २०७६÷७७ सम्म १३५० मेगावाट थियो ।”

प्राधिकरणका अनुसार त्यसयता ५५० मेगावाट विद्युत उत्पादन थपिएर एक हजार ९०० मेगावाट पुगेको छ । तर, यो उत्पादन वर्षायामको मात्र हो । हिउँदमा नेपालको विद्युत उत्पादन क्षमता करिब ७०० मेगावाटले घटेर एक हजार २०० मेगावाटमा झर्छ ।

वर्षायाममा उत्पादन क्षमता बढेर एक हजार ९०० मेगावाट पुगेपनि हिउँदमा उत्पादन क्षमता खुम्चिन्छ । वर्षामा नदीहरूको वहाब बढी हुने भएकाले बढी उत्पादन हुन्छ । तर, हिउँदमा नदीको बहाब सुक्ने भएकाले विद्युत उत्पादन क्षमता पनि घट्छ ।

त्यसैले हिउँदको समयमा नेपालका विद्युतको माग धान्न भारतबाट आयात गर्नुपर्ने हुन्छ । वर्षायाममा भने नेपालबाट भारततर्फ नै विद्युत निर्यात हुने गरेको छ ।

वि.सं. २०६७ सालदेखि निर्माण शुरु भएको तामाकोशी जलविद्युत (४५६ मेगावाट) आयोजनाबाट अहिले पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । हाल आयोजनाका छमध्ये पाँचवटा युनिटबाट पूर्ण क्षमता र एउटा युनिटबाट परीक्षण उत्पादन भइरहेको छ ।

एउटा युनिट परीक्षणकै रुपमा भएपनि त्यसबाट पनि विद्युत उत्पादन भइरहेको छ । जसबाट नेपालको प्रसारण लाइनमा ४५६ मेगावाट विद्युत थपिएको छ ।

माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा आफ्नो उत्पादन थालेपछि नेपालको विद्युत उत्पादन बढेर खेर जाने स्थितिमा पुगेको जनाइएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन मिती दोस्रोपटक सारेपछि बल्ल पूर्ण क्षमतामा उत्पादन शुरु भएको हो ।

यसलाई २०७४ सालमा सम्पन्न गर्ने भनिएपछि भूकम्प र भारतीय नाकाबन्दीका कारण २०७७ सालमा सम्पन्न गर्ने भनियो । तर, उक्त मिति पनि नाघिसकेको छ । यद्यपि, यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा सूचीकृत हुने २४ आयोजनामध्ये सबैभन्दा पहिला सम्पन्न हुने आयोजना हो ।

तपाईको प्रतिक्रिया