एमालेसँग काँग्रेस लड्न सकेको छैन, माधव नेपालको प्युसो उफ्रन्छ : केपी ओली

Halesi Khabar
0 Shares

काठमाडौँ, २२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताउनुभएको छ । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताउनुभयो ।

‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन्’ उहाँले भन्नुभयो ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’

अध्यक्ष ओलीले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गर्नुभयो । ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताउनुभयो । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’ ओलीले भन्नुभयो, ‘अहिले एउटा बेसरम व्यक्तिको नेतृत्वमा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।’

नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया