काठमाडौँ, २२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो घोषणा गर्नुभएको हो ।
“एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन”, अध्यक्ष प्रचण्ड भन्नुभयो, “तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।”
त्यस्तै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताउनुभयो । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गर्नुभयो ।