खोटाङ, २३ भदौ । १ नं. प्रदेशकी पूर्व सामाजिक विकासमन्त्री उषाकला राईले स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई औधोगीकरण गरेर आर्थिक समृद्धिको मुल ढोका खुल्न सकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेका पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औधोगीकरण गर्न सके देशमा आर्थिक समृद्धिको मुल ढोका खुल्ने दाबी गर्नुभयो ।
दिक्तेलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्तचन्दन जस्ता ब्राण्डिङ गर्नुपर्ने धेरै चिज रहेको बताउनुभयो । “मेरै पालमा लोकल रक्सीलाई ब्राण्डिङ शुरु गर्ने प्रयास शुरु भएको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्छ । यसले कृषि र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ । रोजगारीको खोजीमा विदेसिएका युवालाई समेत गाउँमै फर्काउन सकिन्छ ।”
घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान थाल्नुभएकी पूर्वमन्त्री राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदोको खेतीलाई समेत व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाले हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रुपमा स्वरोजगार बनाउने तथा हाल बाँझिएका, नाङ्गो डाँडाकाँडालाई कोदोको पकेट क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
आफू मन्त्री रहेको समयमा ‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको तथा आवश्यक कानून निर्माणका लागि चालु आर्थिक वर्ष रु एक करोड बजेट विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । “कोदोको लोकल रक्सीमाथिको प्रतिबन्ध फुकुवा गर्दै उत्पादन, ब्राण्डिङ तथा बजारीकरण गर्ने वातावरण चाँडै निर्माण हुन्छ”, उहाँले भन्नुभयो, “ब्राण्डिङको काम शुरु भएलगत्तै विभिन्न जिल्लामा कोदोको पकेट क्षेत्रको विकास हुन्छ । बाँझिएको, झारपात उम्रेका जग्गामा दोकोको खेती शुरु हुने छन् ।”
पूर्वमन्त्री राईले कानूनीरुपमा ब्राण्डिङ शुरु भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताले कोदोको रक्सी उत्पादनमा लगानी गर्नेसमेत बताउनुभयो । आफ्नो मन्त्री पद गुमेपछि गृह जिल्ला फर्कनुभएकी राईले १५६ दिन मन्त्रीका रुपमा गरेका काम र उपलब्धीका बारेमा पनि जानकारी दिनुभएको छ ।
पूर्वमन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको ब्याण्ड (प्रतिबन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सार्नुभएको थियो । गत वर्ष प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दासमेत राईले बिरोध जनाउनुभएको थियो ।
वि.सं. २०७७ असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगीकरण गर्न सके सिङ्गो देशको आर्थिक समृद्धिमा टेवा धारणा राख्नुभएको थियो । लोकल रक्सीलाई ब्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि ब्याण्ड गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्रीले नै प्रतिबन्धित कोदोको रक्सीलाई प्रवद्र्धन पहल थालेपछि जिल्लाबासी उत्साहित बनेका छन् । पूर्व पहाडी जिल्ला खोटाङमा अधिकांश ग्रामीण भेगमा बसोबास गर्ने महिलाको आम्दानको स्रोत नै कोदोको लोकल रक्सी उत्पादन हो ।
ग्रामीण भेगका महिलाले उत्पादन गरेको लोकल रक्सी बिक्री गर्दा आएको पैसाले घर खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउने गरेका छन् । आम्दानीको स्रोत नभएको जिल्लामा कोदोको लोकल रक्सी उत्पादनले कानूनी वैधानिकता पाउने हो भने समृद्धिको ढोका खुल्ने निश्चित छ ।