काठमाडौँ, २४ भदौ । नेपाल भ्रमणमा आइपुगेकी एमसीसी कम्प्याक्ट अपरेसनकी उपाध्यक्ष फातिमा सुमारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट भेटवार्ता शुरु गरेकी छिन् । नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् ।
नेपालमा चरम विवादित एमसीसी सम्झौता पारित गराउन ओलीले आफू प्रधानमन्त्री हुँदा निकै जोडबल गरेका थिए । सो सम्झौता संसदबाट पारित गराउन उनले २०७६ असार ३० गते संसदमा पेश गर्न लगाएका थिए । तर, प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदन गराउने प्रकृया सभामुखले रोकिदिएका थिए ।
आफ्नो कार्यकालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७५ पुसतिर अमेरिका पठाएका ओलीले वासिङ्टनको विश्वास जित्न पनि निकै कोशिस गरेका थिए । सत्ताबाट बाहिरिएपछि पनि ओलीले एमसीसीको चर्चा गर्ने गरेका छन् । तर, उनले सत्तामा हुँदाजस्तो जोडबल भने गरेको पाइँदैन ।
यद्यपि, साउन २६ गते बसेको संसद बैठकमा पनि उनले एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका थिए । सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रममा एमसीसी नसमेटिएको उनको भनाइ थियो ।
हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि जुनसुकै हालतमा संसदबाट एमसीसी पारित गराउने लाइनमा छन् । यही बीचमा ओलीलाई एमसीसी उपाध्यक्षले नेपाल आएकै दिन भेटेकी हुन् भने अमेरिकी रणनीति एमाले र सो पार्टीका अध्यक्षलाई विश्वासमा लिइराख्ने जस्तो देखिन्छ ।
एमसीसी विवादलाई लिएर हालको गठबन्धन फुुटिहालेमा एमाले र काँग्रेस एक स्थानमा आउने र यसलाई पास गर्न अनुकूल वातावरण बन्नेसमेत एमसीसी पक्षधरहरुले बताइरहेका छन् । हाल सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत) समाजवादीले परिमार्जनबिना एमसीसी कार्यान्वयन गर्न नसकिने बताइसकेका छन् ।