एमसीसी सभामुखले रोके, हामी प्रतिपक्षमा छौँ : केपी ओली

Halesi Khabar
0 Shares

काठमाडौँ, २४ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताउनुभएको छ । सम्झौता कार्यान्वयनबारे छलफल गर्न बालकोट पुगेकी एमसीसी कम्प्याक्ट अपरेशनकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीलाई ओलीले यस्तो बताउनुभएको हो ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएअनुसार ओलीले आफूूहरू सरकारमा रहँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई अघि बढाएको उल्लेख गर्नुभयो । “पार्टीभित्रै रिजर्भेशन भएपनि हामीले अघि बढाउने कोशिश गरेका हौँ । सदनमा हामीले नै टेबल गरेका हौँ”, उहाँले भन्नुभयो, “सभामुख लगायत केही व्यक्तिहरूको भूमिकाका कारण त्यो अनुमोदन हुन सकेन ।”

अहिले आफूहरू प्रतिपक्षमा रहेको र भूमिका बदलिएको पनि ओलीले एमसीसी टोलीलाई बताउनुभयो । विपक्षीमा हुँदा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै ओलीले हाल सत्तारुढ दलले अहिलेसम्म एमसीसीबारे कुनै नगरेको पनि जनाउनुभयो ।

यो अवस्थालाई यही हिसाबले बुझिदिन ओलीले आग्रह गरे र भ्रमण सफलताको शुभकामना पनि दिनुभयो । एमसीसी मुख्यालयको टोलीले शिष्टाचार भेटका क्रममा मूलभूत रूपमा एमसीसी परियोजनाबारे रहेका विवाद र द्विविधाबारे बताएको थियो ।

नेपालको अवस्थालाई ध्यानमा राखेर अनुदानका रूपमा सहायता उपलब्ध गराउन खोजिएको र धेरै कुरा प्रष्ट पारेको टोलीको भनाइ थियो । नेपाल भ्रमणमा आएको एमसीसी मुख्यालयको टोलीले सबैभन्दा पहिले ओलीसँग भेट गरेको हो ।

तपाईको प्रतिक्रिया