सरकारले ल्यायो रु १६ खर्ब ३२ अर्बको संशोधित बजेट

Halesi Khabar
0 Shares

काठमाडौँ, २५ भदौ । सरकारले कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयकमार्फत नयाँ बजेट अंक सार्वजनिक गर्नुभएको हो ।
रु १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको सरकारले संघले चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२ प्रतिशत) छुट्याएको छ । पूँजीगततर्फ ३ खर्ब ७ अर्ब १० करोड (२३.१६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरणतर्फ विनियोजितमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित रु तीन खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पूँजीगततर्फ ६१ करोड ५५ अर्ब (१५.८९ प्रतिशत) छुट्याइएको छ । राजस्वबाट रु दश खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने अर्थमन्त्री शर्माले बताउनुभयो ।

चालु, पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट ब्यहोर्दा रु पाँच खर्ब २२ अर्ब नौँ करोड न्यून हुने सरकारले जनाएको छ । यो परिपूर्ति गर्न सरकारले रु दुई खर्ब ८३ अर्ब नौँ करोड वैदेशिक ऋण र रु दुई खर्ब ३९ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया