–भीम राई
खोटाङमा नेपाली काँग्रेसको राजनीतिलाई नजिकबाट नियाल्नेहरुले अहिले पनि नबिर्सने नाम हो सर्वधन राई । २००७ सालको राजनीतिक परिवर्तन ताका काँग्रेसको राजनीतिमा आएका राईले पञ्चायतका विरुद्धमा समेत धावा बोलेको इतिहास छ ।
दिक्तेल खाल्लेमा तत्कालीन राजा महेन्द्रलाई चुनौति दिन ५२ झ्याले दरबार बनाउनुभएका राईले पछि राजदण्ड लाग्ने भनिएपछि एउटा झ्याल बन्द गरेको स्थानीय बासिन्दाले कथा सुनाउँछन् । काँग्रेसको हतियार सहितको आन्दोलनमा सरिक राईपछि भने जिल्लामा काँग्रेसको साङ्गठानिक भूमिका निकै ओझेलमा परेको थियो ।
जिल्लामा बामपन्थि राजनीतिको प्रभाव बढिरहेको बेला तत्तकालिन पञ्चायती व्यवस्थाको समर्थनमा बन्ने यूवा तथा विद्यार्थी र महिलाहरुको सङ्गठनहरु बनेपनि नेपाली काँग्रेसको सङ्गठन खोटाङमा बनेको इतिहास भेटिदैन । तत्कालीन काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको समेत पछिल्लो समयमा मात्र खोटाङमा प्रभाव देखिएको हो ।
जिल्लाबाट बाहिर गएकाहरु विभिन्न ठाउँमा सङ्गठित भएका थिए । २०३६ सालमा राजा वीरेन्द्रले गराएको निर्दलीय व्यवस्था वा बहुदलीय व्यवस्था रोज्ने जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिएको तत्कालीन राजनीतिक पार्टीहरुमा काँग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरुको हल्लाखल्ला जिल्लामा राम्रै परेको भेटिन्छ । त्यहि मेसोमा खोटाङमा काँग्रेसको जिल्ला समिति निर्माण भएको पाइन्छ ।
जनमत सङ्ग्रह २०३६ सालमा हुनेभएपछि खोटाङको जिल्ला सभापतिमा पहिलो पटक धनवर्ण राईको नेतृत्वमा समिति गठन भएको थियो । यो इतिहास काँग्रेस पार्टीको स्थपनाको पहिलो खुड्किलो थियो । त्यसबेला प्रतिबन्धित नेपाली कांग्रेस भनिने पार्टीले २०४६ सालकाे माग ५ गते बाट मात्र प्रतिबन्धित शब्द हटाएर नेपाली कांग्रेस भएकाे हाे । त्यस पश्चात जिल्ला खाल्लेका सर्वधन राई (हाल मृत्यु भइसकेको) जिल्ला सभापति बन्नुभएको थियो । यसपछि भने काँग्रेसले जिल्लामा निरन्तर पार्टी सङ्गठनलाई सञ्चालन गर्दै आएको छ ।
सर्वधनपछि जिल्ला सभापति बनेका थिए ज्यामिरेका बलबहादुर रुम्दाली राई (हाल मृत्यु भइसकेको) । राईपछि नेतृत्वमा आइपुग्नुभएको थियो शिवकुमार बस्नेत । जिल्ला सभापति भइसक्नुभएका बस्नेत हाल खोटाङ छाडेर मोरङमा पार्टीको कृयाशील सदस्यता सारेर बस्नुभएको छ ।
बस्नेत २०५६ सालमा खोटाङको निर्वाचन क्षेत्र नं. २ पार्टी निर्वाचित सांसद तथा काँग्रेसको सरकार बन्दाको वन राज्यमन्त्री पनि हुनुभएको थियो । यसपछि जिल्लामा काँग्रेसको नेतृत्वमा विष्णुकुमार राई आउनुभएको थियो । २०४८ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत हुनुभएका राईको नेतृत्वमा काँग्रेसको दुई कार्यकाल बित्यो । अर्थात राईले लगातार दुईपटक जिल्ला सभापति भएर काँग्रेसलाई नेतृत्व गर्नुभयो ।
यस बीचमा काँग्रेसमा एक पटक विभाजनसमेत आयो । विभाजनका बेलामा काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति बन्नुभएको थियो खार्पाका सुवास पोख्रेल । पछि फेरि मिल्यो । पार्टी मिलेपछि भने पोखरेलको राजनीतिक क्रियाकलाप जिल्लामा आकाल झुकलमात्र भेटिन्छ ।
विष्णु राईको नेतृत्वमा दुई कार्यकाल लगभग दशवर्षपछि नेतृत्वमा आउनुभएको थियो दिक्तेल बजारका नरेश श्रेष्ठ । श्रेष्ठको कार्यकालको अब अन्तिम क्षण पनि हो ।
काँग्रेसको १४ औँ महाधिवेशनको सङ्घारमा आइसकेको छ । यस बेला काँग्रेस नेता तथा कार्यकर्ता गाउँ–गाउँ छिरेका छन् । कहिल्यै नदेखिने पाहुना नेताहरु अहिले प्रत्येक गाउँ तथा टोलहरुमा घुमिरहेका छन् ।
मूलुकमा हुने आम निर्वाचनमा खटिएका राजनीतिक दलका कार्यकर्ताहरुभन्दा बढी सक्रियताका साथ उनीहरु आफ्ना गुटको पक्षमा भोट माग्न व्यस्त देखिएका छन् । काँग्रेसको यो पार्टी भित्र गरिने दरिलो लोकतान्त्रिक अभ्यास हो ।
काँग्रेसभित्र एक प्रकारको लोकतान्त्रिक अभ्यास र सङ्गठन गर्ने शैलि हेर्दा यथास्थितिवाद जस्तो देखिएका छन् । एकजना काँग्रेसका नेता वर्षमा हुने ३६५ दिनमध्ये १ दिन काँग्रेस नभए पनि फरक नपर्ने पद्धतिलाई पनि लोकतान्त्रिक नै मान्ने हो भने यो विचार शुन्य नेतृत्वको पार्टी पनि भन्न सकिने प्रशस्त घटनाक्रमहरु रहेका छन् ।
आफूभित्रको प्रतिस्पर्धा एउटा आन्तरिक लोकतन्त्र राम्रो भएपनि सिङ्गो पार्टी र राजनीतिक विचारको प्रतिस्पर्धा गर्ने ठाउँ आम निर्वाचन लगायतका निर्वाचनहरुमा अन्तरघातको सबैभन्दा ठुलो डण्डा यहि पार्टीभित्र रहेको तथ्यहरु रहेका छन् । अझ रोचक विषय त के छ भने, २०३६ सालदेखि खोटाङमा सङ्गठित रुपमा लगातार चलिआएको पार्टीको नेतृत्व तह केन्द्रीय समितिमा ४२ बर्षमा एकजना मात्र केन्द्रिय सदस्य बनेको देखिन्छ ।
विदुर पाैडेल बाहेक काेही कांग्रेस केन्द्रीय सदस्य बन्न सकेनन्। विदुर पाैडेलपनि तत्कालिन शेरबहदुर देउवाले नेतृत्व गरेकाे नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेस सँस्थापनसँग पार्टी एकता गर्दा चिठ्ठा परेरमात्र बनेका थिए। यश बाहेक शिव बस्नेतले केन्द्रीय समितिमा उम्मेदवारी दिए तर सफल भएनन् । यस्तै सरस्वति बजिमयले पनि आँट गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी त दिईन् तर सफल हुन सकिनन्। काँग्रेसको नेतृत्वमा सरकार भएका बेला २०५६÷०५७ ताका राज्यमन्त्री बन्नुभएका युवा नेता सर्वधन राई जिल्लाको नेतृत्वमा गुमनाम नै पारिएका थिए । कौशलराज रेग्मी, विदुर पौडेल, तीलक तिमल्सिना, बलबहादुर रुम्दालीहरु जिल्ला छाडेरै जानुपर्ने अवस्था सिर्जना भयो ।
बढ्दो लोकतान्त्रिक आचरणकै कारणले गुटसँग भिड्न नसक्दा शिव बस्नेतले राजनीतिक भूमि नै परिर्वतन गर्न पुग्नुभयो । नेविसङ्घमा लामो समय काम गर्नुभएका पार्टीको जिल्ला सचिवसमेत भइसक्नुभएका महेन्द्र कटुवालहरुले पार्टी परित्याग नै गर्नुपर्ने अवस्था आइपुगेको छ । यी चरम लोकतान्त्रिक आचरणकै कारण हो भन्न सकिन्छ ।
यस्तै २०५६ सालको आम निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित माननीय तथा पूर्व राज्यमन्त्री सर्वधन राईलाई क्षेत्रीय प्रतिनिधिमा नै रोकेर राखिएको त्यति मिठो इतिहास हुँदै होइन । यस्तै २०७० सालको संविधानसभाको निर्वाचनमा नरेश श्रेष्ठलाई चुनाव हराउन तत्कालीन एमालेका उम्मेदवार पाँचकर्ण राईसँग सौदा गर्ने सुवास पोखरेलहरुको चरित्र पनि उत्कृष्ट लोकतान्त्रि आचरणभित्र पर्दैन ।
यी र यस्तै चरम लोकतान्त्रिक अभ्यासका कारण काँग्रेसलाई कसैले कमजोर बनाएको होइन आफ्नैले र आफैले कमजोर बनाइरहेको छ । यही कुरालाई अब हुने १४ ौँ महाधिवेशनको निकटमा भइरहेको जिल्ला अधिवेशन तथा पालिका अधिवेशनहरुमा ख्याल गर्न सकेमा काँग्रेसको भविष्य उज्वल देखिन्छ । समाज रुपान्तरणमा नेतृत्वको बुद्धीमा पनि रुपान्तरण आवस शुभकामना !