खोटाङ, २ असोज । पूर्वी पहाडी जिल्ला खोटाङका आठ जना बिरामीमा डेङ्गु रोग पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोही नगरपालिकाको वडा नं.–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जना बिरामीलाई डेङ्गु रोग लागेको पुष्टि भएको हो ।
डेङ्गु सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताउनुभयो । “डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षण अनुसार उपचार गर्नुपर्ने हुन्छ”, डा. मल्लिकले भन्नुभयो, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले सबै सचेत हुन आवश्यक छ ।”
डेङ्गुको सङ्क्रमण पुष्टि भएका दुई जना बिरामी भने, हाल जिल्ला अस्पतालमै भर्ना भएर उपचाररत रहेका डा. मल्लिकले बताउनुभयो । अस्पताल स्रोतका अनुसार अन्य पाँच जना बिरामी भने आफ्नै घरमा उपचाररत रहेका छन् ।
एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच÷छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा. मल्लिकले बताउनुभयो । डेङ्गुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भएपनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने लगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेङ्गुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेङ्गुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । पछिल्लो जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ ।
भर्खरै स्तरोन्नतिको काम शुरु गरिएको अस्पतालमा बिरामीको चाप बढेपछि उपचारमा समेत समस्या भएको जनाइएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताउनुभएको छ ।
जिल्लामा सञ्चालित दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पतालमा समेत बिरामीको सङ्ख्या उत्तिकै रहेको स्रोतले जनाएको छ । जिल्लामा सञ्चालित सरकार तथा सामुदायिक अस्पतालको सेवा भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि सुविधयुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ ।
लामो समयको स्वास्थ्य समस्या भोग्दै आएका जिल्लाबासीको सहस्या जिल्लामै हल गर्न भर्खरैमात्र पन्ध्र शैय्यामा सञ्चालित एकमात्र सरकारी जिल्ला अस्पताल खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्ने काम शुरु गरिएको छ । वि.सं. २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई स्तरोन्नति गरेर ५० शय्यामा सञ्चालन गर्नका लागि पुरानो संरचनाका भवनहरु हटाएर नयाँ पक्की भवन निर्माण गर्न घडेरी सम्याउने काम शुरु गरिएको हो ।