माओवादी नेता र धामी माछाको कहानी

Halesi Khabar
581 Shares

–भीम राई
नेकपा (माओवादी केन्द्र)का खोटाङ इन्चार्ज समिता कार्की ‘अस्मिता’, नगर अध्यक्ष विसन राई लगायतका नेताहरु पार्टी कामको सिलसिलामा खोटाङको निर्मलीडाँडा पुग्छन् । निर्मलीडाँडा माओवादी आन्दोलनमा शहादत प्राप्त शहीद दिलकाजी कार्की र शहीद ईन्दिरा कार्की र शहीद सिर्जना तोलाङ्गे (एकता)को गाउँ । अर्थात खोटाङ जिल्लाको माओवादी आन्दोलनको एक ऐतिहासिक गाउँ । जुन गाउँमा जन्मेर आन्दोलन शुरुवातीमै विद्यार्थी जीवनबाट सशस्त्र आन्दोलनमा पुग्नुभएको अस्मिता स्वयम् शहीद दिलकाजी कार्की र ईन्दिरा कार्कीको बहिनी पनि हुनुहुन्छ ।

गाउँमा सबैसँग भेटघाट गर्दै माओवादीका नेताहरु भलाकुसारी गर्दै बिगतदेखि वर्तमानसम्मको छलफलमा जुट्ने हिसाबले त्यहाँ पुगेका छन् । बेलुकी पख बास बस्ने समय आउँछ । बास बस्न कहाँ जाने आफ्नै गाउँ त हो के नै फरक पर्छ र ? उनीहरु लाग्छन् तत्कालीन गाउँ जनसरकार प्रमुख, स्थानीय नेता तथा अभिभावक बलराम राईको घरमा । बलराम राईको घरमा बास बस्नेगरी पुगेका पाहुना नेता कमरेडहरुलाई बलराम बाबैले गच्छे अनुसारको स्वागत गर्ने कुरा गाउँघरको चलन नै हो उसै गर्नुभयो ।

बलराम बाबै पहिले द्धन्द्धकै समयदेखि माओवादीको कटर समर्थक मात्र होइन माओवादीले तत्कालीन द्धन्द्धको समयमा बनाएको गाउँ जनसरकारको प्रमुख नै भएका व्यक्ति, परिर्वतनको पक्षमा आन्दोलनमा लागेका हरेक नेताहरुलाई सेल्टर दिने घरका अभिभावक । कति नेताहरुलाई उहाँले मोछामा राख्ने कुनामा लुकाउनुभयो भनि साद्धे छैन । उहाँको घरमा बास बस्न पाउनु कमरेड अस्मितालाई त गौरव लाग्ने नै भयो । अरु नेताहरुलाई समेत उर्जा मिलेको थियो ।

उता भान्साको जोहो काकीले गर्दै गर्दा यता कुराको प्रशङ्ग शुरु भयो । बलराम बाबैले कुराको मेसो बसाउनुभयो । एउटा राम्रै कथाबाट । कथा यसरी शुरु भयो । एउटा खोला रहेछ । खोलामा थुप्रै माछाहरु बस्दा रहेछन् । थुप्रै माछाहरु बस्ने सानो सानो दहहरु हुने नै भयो । त्यसमध्ये अलिक राम्रो ठुलो दहमा एउटै माछाका सन्तानहरु सबै बसेका रहेछन् । एकदिन माछाहरुले एउटा सल्लाहा गरेछन् । अब वर्षा लाग्न आँट्यो भलबाढी आउने समय भयो यसो हेरकोर (धामी ल्याएर चिन्ता बसाउने काम) गर्न पाए हुन्थ्यो ।

यस्तैमा त्यहि खोलामा डुल्दै हिँड्ने एउटा नजिकै नाता पर्ने ठुलो धामी माछा त्यहाँ पुगेछ । अन्य माछाहरुलाई ढुङ्गा खोज्दा देउतै मिले जस्तो भयो । उनीहरुले सल्लाह गरेछन् । लु यो धामी माछा सबैको विश्वासिलो छ । यसलाई नै हेरकोर गराउनुपर्छ ।

धामी माछा के कम उसले पनि यस्तै खोजेको थियो । कतै आश्रयको आशाले वा आफूले भनेको कुरामा विश्वास गर्छन् र साथ दिन्छन् भन्ने हेतुले या त्यो दहमा उनीहरुको रजगज भएको धेरै भयो उनीहरुलाई त्यहाँबाट निकालेर पठाउन पाए अरु परिवार ल्याएर राख्न पाइने लोभले होस । जे होस धामी माछाले आफूलाई त्यहाँ चिन्ता बस्ने अवसरलाई उम्कन नदिने विचार गरेर बसेछ ।

सबैले धामी माछालाई सम्मान गरेछन् । दहभरीका माछाका परिवार जम्मा भएर जोखना हेराउन थालेछन् । दहको माछाको मुलीले एउटा प्रश्न गरेछ । धामीमाछा ! तिमी त देश परदेश घुम्ने, जान्ने जानवा पनि छौ । बुझ्ने बुझक्कड पनि हौ । अब यसपाली वर्षा लाग्न आँट्यो । हाम्रो घर गृहस्थी कस्तो हुन्छ ? सोधी खोजि गरिदिनु प¥यो !

धामी माछाले खुब उत्साहित हुँदै जवाफ दिएछ । हेर्नुस सबै माछाहरु ! सबै कुरा ठीक छैन । अब भरै बेलुकीदेखि मौषम एकदमै खराब हुने छ । हाम्रो यो खोला सबै बगाउने गरी भलबाढी आउने छ । तिमीहरु उभो भागेमा ठुलो भेलबाढीमा पर्ने छौ । उँधो भाग्दा मान्छेले पासो थापेका छन् त्यहि पासोमा परेर सबै मर्ने छौ । यो दहमा बस्नु अब भोग पुग्यो । अब यहाँबाट कसरी ज्यान जोगाउने हो आफै सोच्नु । आफ्नो ज्यान जोगाउन कता जाने हो गइहाल्नु । यति भनेर धामी माछा हिँडेछ ।

धामीमाछाले यति जोखना बताएर हिँडेपछि दहका माछाहरुमा बढो चिन्ता थपियो । अब जाउँ कहाँ जाने । यतिका धेरै भुराभुरीहरु लिएर सात समुन्द्र टाढा जानसकिने अवस्था छैन । नजाउँ धामी माछाले कटाक्ष गरेररै भनेको छ । आजको बेलुकी नै ठुलो भेलबाढी आएर दह पुरै पुर्नेछ । सबै मरिने छ । माछाको परिवारमा पर्नु पीर परेछ । सबैले अनेक उपाय सोचेछन् ।

तनाब लिएर अनेक विकल्प सोधी खोजी गर्दै उफ्रिने पाफ्रिने गरेछन् र पनि केही विकल्प भेटिएन (अचेल पनि ठुलो बाढी आउने सङ्केत पाएमा माछाहरु उफ्रिने गर्छन्) । कुनै उपाय नभेटेपछि अन्तत माछाका भुराभुरीहरुले भने एउटा ढिट कसेछन् ।

अब मरिने रहेछ नै भने किन अरु ठाउँ सर्ने जहाँ गएपनि मरिन्छ । उभो गएपनि धर छैन । उधो भागे पनि धर छैन । मरिने नै भएपछि किन अरु ठाउँ जाने ? हामी कतै नजाने । मर्दा यहि ठाउँमा मरौँला । यो कुरा सुनेपछि माछाहरुको मुलिलाई पनि सही लागेछ । आखिर यो दह छाडेर जता गए पनि मरिने नै हो भने आफू बसेकै घरमा मरौँला । भनेर उनीहरु बसेछन् ।

तर, विढम्बना भनौँ । धामी माछाको भविष्यवाणी पुगेन । उसले भनेजस्तो पानी पनि परेर भेलबाढी पनि आएन । उनीहरु त्यहि दहको कुरमा सकुसल बाँचेछन् । धामी माछाले भनेको कुरा पत्यारिलो भएन । उनीहरु त्यहि दहमा बसिरहे । उनीहरुले ढाँट धामीमाछाको खोजि गर्न थाले तर, धामीमाछा बेपत्ता !

तर, यता धामी माछा भने आफूले लगाएको फुर्ति, आफूले गरेको भविष्यवाणी नपुगेपछि मर्नु भएछ । पछि पनि धामी माछा त्यही खोलामा बस्नु त परिगो । तर, कहिल्यै त्यो दहमा जान सकेन रहेछ । उसलाई त्यहाँ जान लाजले वा डरले के कारणले गएन त्यो धामी माछाले नै जानोस् तर, उसले लाएको गफले उसैलाई अफ्ठ्यारोमा पारेको भने अवश्य हो ।
यति भनेर बलराम बाबै फिस्स हाँसेछन् । कमरेड अस्मिता मौन, विसन लगायतका नेताहरु छक्क !

यो कथाको प्रशङ्ग किन उठाइयो ? अब बहस यतातिर लैजाउँ । अहिलेको राजनीतिक परिवर्तनको एउटा सिङ्गो हिस्सा ओगटेको माओवादी आन्दोलनको नेतृत्वले गरेको अनदेखा शैलिमाथिको यो एउटा प्रहार थियो । हिजो सशस्त्र जनयुद्धको ताकामा बसेका सेल्टरहरु, साथ दिएका जनताको मनहरुसँग टाढिदै गएको आभासको सार हो यो कथा ।

बलराम बाबै जस्तै धेरै बुबाआमा, दिदीबहिनी दाजुभाइहरुले आफ्नो गाँस कटाएर आन्दोलनलाई गरेको सहयोगको उचित कदर अहिले माओवादी नेतृत्वले गर्न नसक्दा आएको पीडा थियो धामी माछाको कथा । अबको माओवादी नेतृत्वले पाठ सिक्न जरुरी छ भन्ने सन्देश आफ्ना समर्थक शुभचिन्तक, आफ्ना कार्यकर्ता तथा मतदाताहरुलाई गर्नुपर्ने व्यवहारमा नेतृत्वले शैलिमा परिवर्तन गरोस भन्ने अपेक्षा हो ।

अब हिजोका जस्ता कुरा (युद्ध र दुश्मनकाे सफाय) ले होइन यर्थातको धरातलमा उभिएर बहस र छलफल चलोस भन्ने मनोकाङ्क्षाले जन्मिएका हुन यी कथाहरु । यतातिर माओवादी नेताहरुको चेत फर्कियोस शुभकामना !

तपाईको प्रतिक्रिया