एमालेको कार्यकर्ता र सूर्य चिन्हको धमास

Halesi Khabar
0 Shares

–भीम राई
केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा दिप्रुङ चुइचुम्म गाउँपालिका–४ बतासेमा नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष बनेका नेता लोकेन्द्र राईले तीनवटा फोटो राखेर स्टाटस लेखे । “नेकपा एमालेको नियमित कार्यक्रम आज बतासेमा शुरु हुनुभन्दा अगाडि तयारी गर्दै” फोटोमा चारजना बसेको १३ जना उभिएका थिए । पछाडिकाहरुले ब्यानर समातेका थिए । ब्यानरको छेउमा सूर्यवाला झण्डा ठडाइएको थियो ।

यस्तै कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित तीनवटा झण्डा भने उल्टाएर राखिएको थियो । अर्थात झुकाएर राखिएको फोटो देखेपछि केही कुरा लेख्न बाध्य भइयो । नेकपा एमाले अर्थात नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी नेपालको राजनीतिमा उदाएको २०४७ सालबाट हो ।

तत्कालीन मदन भण्डारी, जीवराज आश्रित, सिपि मैनाली, राधाकृष्ण मैनाली, झलनाथ खनाल र माधव नेपालहरुले सङ्गठित गरेको तत्कालीन नेकपा माले र मनमोहन अधिकारीहरुले नेतृत्व गरेको नेकपा माक्र्सवादीको एकतापछि बनेको नेकपा एमाले एउटा सशक्त कम्युनिष्ट पार्टीको रुपमा उदाएको पार्टी हो । विचार दृष्टिकोणमा समेत अब्बल राजनीतिक कार्यक्रम, कार्यनीतिक रुपमा या रणनीतिक रुपमा समेत स्पष्ट खाका बोकेर उदाएको तत्कालीन नेकपा एमालले एक प्रकारको प्रभाव नेपाली समाज पारेको स्पष्ट छ ।

एमालेको पाँचौ राष्ट्रिय महाधिवेशन ताका आएर वैचारिक हिसाबले एमाले नेतृत्वले नयाँ कार्यक्रमको पर्दापण गराउँदा केही फरक विचारहरुसमेत आएको इतिहासको दस्तावेजहरुमा अझै पढ्न पाइन्छ । त्यसबेला सिपि मैनालीहरुले ल्याएको नौँलो जनवादको कार्यनीतिक दस्तावेज र मदन भण्डारीले ल्याएका जनताको बुदलीय जनवादको बहसले कार्यकर्ताको तहसम्म तरङ्ग ल्याइदिएको थियो ।

यसको तुस अझै सिपि मैनालीहरुले बोकी रहेका छन् । यी वैचारिक हिसाबले आएको पार्टी राजनीतिको आन्तरिक जीवनमा चल्ने बहसहरु थिए । यसबाहेक अरुपनि कम्युनिष्ट पार्टीहरु नेपाली राजनीतिमा कृयाशील थिए । उनीहरुले पनि वैचारिक बहसलाई नजिकबाट नियाली रहेका थिए ।

यस्तै बेलामा २०४८ सालमा आम निर्वाचन भयो । २०४६ सालबाट निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएपछि विकसित राजनीतिक घटनाक्रममा तत्कालीन निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त ग¥यो । नेकपा एमाले प्रतिपक्षको बेन्चमा बस्न पुग्यो । त्यसबेला नेपाली काँग्रेसले चुनाव चिन्ह रुख र नेकपा एमालले सूर्य चिन्ह प्राप्त गरेका थिए ।

त्यसबेला भनिएको नेपाली काँग्रेसको एकल बहुमतको सरकार आन्तरिक द्धन्द्धका कारण पाँच वर्ष टिकेन । २०५२ सालमा आएर मध्यावधि निर्वाचनमा मुलुकलाई होमियो । यतिबेलासम्म प्रतिपक्षमा बसेको एमालेले आफ्नो कार्यकर्ताहरुलाई वैचारिक तथा सैद्धान्तिक हिसबाले निकै चलायमान बनाइ सकेका थिए । यसको परिणाम २०५२ सालको मध्यावधि निर्वाचनमा एमालेलाई मुलुकको सबैभन्दा ठुलो राजनीतिक दलको हैसियत प्राप्त भयो ।

बहुमत नपुगेपनि सबै भन्दा ठुलो दलको हिसाबले एमालले सरकार गठन गर्ने तत्कालीन संवैधानिक व्यवस्था अनुसार एमालेले अल्पमतको सरकार गठन ग¥यो । मनमोहन अधिकारी प्रधानमन्त्री बने । यसबेला सूर्य चिन्हको कारणले एमाले ठुलो दल भएको थिएन । विचार, नीति र कार्यक्रमको लोकप्रियताले नै जनताको मत प्राप्त भएको थियो । भने नेपाली काँग्रेस पार्टीले गरेको उदण्डताको जवाफ नेपाली जनताले दिएका थिए ।

२०५२ सालमा बनेको अल्पमतको सरकारले नौँ महिनामात्र सरकार सञ्चालन गर्ने अवसर प्राप्त ग¥यो । यसपश्चात विदेशी प्रभुहरुको खेलमा नेपाली राजनीतिका खेलाडीहरु फस्न पुगे । खासगरी तत्कालीन समयमा टनकपुर सम्झौताको विरोध एमालले गरेको थियो । त्यसपछि भारतीय सत्ताले नेपालमा कम्युनिष्ट लोकप्रियता दखि सहेन । यसैबेला महाकाली सन्धीको कार्ड नेपाली राजनीतिमा फालियो ।

महाकाली सन्धीको विषयमा लामो छलफल र बहसहरु भएका थिए । महाकाली सन्धी नेपालको हितमा छैन भनेर विपक्षमा तत्कालिन एमालेका झलनाथ खनाल, बामदेव गौतम, साहाना प्रधान, सिपि मैनाली, राधाकृष्ण मैनालीहरु थिए । यस्तै अहिलेका केपी ओली मार्काका सबै सन्धीको पक्षमा खुलेर लागेका थिए । यतिसम्म कि तत्कालीन नाँै महिने सरकारका गृहमन्त्रीसमेत बनेका केपी ओलीले महाकाली सन्धी भएपछि नेपालको विकास ह्वारह्वारती हुने अबौँ अरब फाइदा हुने बेतुके तर्कहरु ल्याए ।

अन्ततः २०५४ सालमा एमाले विभाजन भयो । बामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो । यसपछि कार्यकर्ताहरु दुई भागमा विभाजित हुन पुगे । यसै समयबाट एमालेमा राजनीतिक प्रशिक्षण सकियो । २०५६ सालको निर्वाचनसम्म आइपुग्दा एमाले र मालेको कार्यकर्तारु विचमा एकाथरी कम्युनिष्ट सिद्धान्तका आधारमा सङ्गठन निर्माण गर्ने अर्काथरी चुनाव चिन्हको साहारा लिएर भोट माग्न जाने अवस्था सिर्जना भयो । यसको परिणाम एमालले सोचे जस्तै सूर्य चिन्हको कारण बढी देखियो । तर, यसमा नौँ महिनामा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको कार्यक्रमको प्रभाव थियो ।

७० वर्ष पुगेका वृद्ध–वृद्धालाई दिइने मासिक भत्ता र आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तरगत प्रत्येक स्थानीय निकाय अर्थात गाविसलाई दिइने तीनलाख रुपैयाँ बजेट प्रमुख कारण थियो । तर, यो कुरालाई ओझेलमा राखेर एमाले नामको पार्टीले सूर्य चिन्हलाई भजाउन थाल्यो । वैचारिक बहसलाई शुन्यमा राखेर कार्यकर्ताहरुलाई ठेक्का पट्टा तथा एनजिओ, आईएनजिओमा भर्ति गर्न र गराउन थाल्यो । अर्थात उपभोक्तावादी सँस्कृतिको विजारोण त्यसबेलाबाट भयो ।

राजनीतिक बहसहरु शुन्य भएपछि पुराना कार्यकर्ताहरु पाखा लाग्ने अलिअलि पैसा चलखेल गर्ने र टाठाबाठाहरु पार्टी सङ्गठनमा आउन थाले । उनीहरुले राजनीतिक बहसमा भन्दा प्राविधिक कुराहरुमा पार्टीलाई मोड्न कसरत गरे । आर्थिक सहयोग र चन्दा सँस्कृतिको विकास गरे । यसपछि एमालेभित्र पठन सँस्कृतिको अन्त्य जस्तै हुन पुग्यो ।

चुनाव चिन्ह प्राविधिक कुरा हो भन्ने कुरा एमाले पार्टीले विर्सि सकेको छ । सूर्य चिन्ह भएन भने एमालेका कार्यकताहरुले अब भोट माग्नै सक्दैनन् । उनीहरुलाई नाँैलो जनवाद, जनताको बहुदलीय जनवाद, एक्काईसौँ शताब्धीको जनवाद वा जनताको जनवाद उस्ता उस्तै लाग्न थालेको छ । पुँजीवाद र उदारवादमा फरक छुट्याउने हिम्मत राख्दैनन् ।

हुँदाहुँदा यतिसम्म कि कमरेडको अर्थ र लालसलामको परिभाषाहरु अब फेरि शुन्यबाट सिकाउनु पर्ने र सिक्नु पर्ने अवस्थामा एमाले नामको पार्टीले पु¥याइसकेको छ । अहिले यहि सिको गरेर अन्य कम्युनिष्ट पार्टी हुँ भन्नेहरुले समेत राजनीतिक प्रशिक्षणको नाममा भाषण बाहेक केही सिकाउने गरेको पाइदैन । यो सब विचलन मुलधारको कम्युनिष्ट पार्टीको नेता हुँ भन्नेहरुले गरेका छन् ।

अहिले माक्र्सवादी दृष्टिकोणको कुरा लेनिनवादी सङ्गठनात्मक पद्धतिको कुरा एकादेशको कथा बन्न पुगेको छ । माओको ३ नियम ७ उपनियममा के छ भन्ने विषयको बारेमा कतै बहस हुँदैन । सुनाइदैन । द्धन्द्धात्मक भौतिकवादका विषयमा कसैले कुरा गर्दैनन् । खाली एमाले भनेको सूर्य चिन्ह हो । हाम्रो सिद्धान्त जबज हो । यति भनेर बनाएको कार्यकर्ताले कति दिन पार्टी चल्छ ।

मुलुकको आमुल परिवर्तन कसरी हुन्छ ? जबज भनेको के हो ? भन्ने प्रश्नको उत्तर जबज भनेको जनताको बहुदलीय जनबाद हो । भनेरमात्र पुग्छ ? फेरि जनताको बहुदलीय जनवाद भनेको के हो ? भन्दा जबज हो भन्ने उत्तर दिनेमात्र कार्यकर्ता निर्माण गर्ने हो । यदि हो भने हँसिया हथौडा अङ्कित झण्डालाई उल्टाएर राख ेपनि केही आपत्ति छैन । मात्र अपमान भएको बुझ्नेले बुझ्ला तर, कालान्तरमा मुलुकको राजनीतिक परिवर्तन र नयाँ युगको प्रवेशद्धार खोल्न यो शैलि हुँदै हुन्न ।
अब एमाले नै भइ खाने नेता कार्यकर्ताहरुले यो पाटो पनि केलाउन कोशिस गर्नै पर्छ सूर्य चिन्ह भजाएर पार्टी लामो समय टिक्दैन । टिक्नेवाला छैन । कि ? देश चलाउने नाममा भ्रम सिर्जना गराएर आमुल परिवर्तनको ढोकालाई ताल्चा मार्ने । बेलैमा सोचौँ । धन्यवाद !

तपाईको प्रतिक्रिया