नगरप्रमुख र प्रजिअसमक्ष अनेम सङ्घ (क्रान्तिकारी)को १२ बुँदे ज्ञापन

Halesi Khabar
0 Shares

खोटाङ, ४ असाेज । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख र जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । अनेम सङ्घ क्रान्तिकारीले जिल्लाको समसामयिक विषयलाई लिएर सोमबार नगरप्रमुख दीपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।

अनेम सङ्घ क्रान्तिकारीका जिल्ला अध्यक्ष ध्रुवा राईको नेतृत्वमा गएको टोलीले अस्पताल र स्वास्थ्य चौकी तथा शिक्षण संस्था वरपरका क्षेत्रलाई धुम्रपान, मद्यपान र जुवातास निशेधित क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म किशोरी मैत्री वातावरण बनाउन आराम कक्ष तथा शौचालयको व्यवस्था गरिनुपर्ने, स्यानटरी प्याड उपलब्धताको सहज वातावरण बनाउनुपर्ने लगायतका १२ बुँदे मागहरु राखेका छन् । महिलाहरुले मावि तहका विद्यालयमा एक जना स्टाफ नर्सको व्यवस्था गर्नुपर्ने, आमाको नामबाट नागरिकता, छोरा सरह पैत्रिक सम्पत्तिको हक, लैङ्गिक उत्तरदायी बजेट बनाउनुपर्ने, नगरपालिकालाई महिला हिङ्सामुक्त पालिका घोषणा गर्न, प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह, गर्भवतीलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था, हिङ्सा पीडित महिलाहरुका लागि न्यायिक समितिबाट न्याय, छोरी जन्मेपछि अनिवार्य बैङ्क खाताको व्यवस्था र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको माग गरेका छन् ।

यस्तै, नगरपालिकाबाट महिलाको क्षमता विकास सम्बन्धी कार्यक्रम आयोजना गर्दा यसअघि एक पक्षीय गरिएकाले आगामी दिनमा सर्वपक्षीय सहभागिताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो । “नगरपालिका हामी सबै विचार समूहका नागरिकको साझा संस्था हो”, उहाँले भन्नुभयो, “साझा संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्ना कार्यकर्तालाई मात्र सहभागी गराएकाले आगामी दिनमा त्यस्तो नहोस भनेर खबरदारी गरेका हौँ ।”

महिला सङ्गठनले बुझाएको ज्ञापनपत्र बुझ्नुहुँदै नगरप्रमुख रिजालले राखेका कतिपय मागहरु सम्बोधन भइसकेको र कतिपय मागहरुलाई तुरुन्तै सम्बोधन गर्ने तयारीमा रहेको बताउनुभएको छ । “नगरपालिकामा हामी निर्वाचित भएर आएपछि सबै नागरिकको दैनिक जीवनसँग जोडिएर आउने समस्याहरुमध्ये अधिकांश समस्या समाधान गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तहमा अल्पकालीन सुरुक्षित गृह बनाउने, छोरीका लागि जन्मेपछि अनिवार्य बैङ्क खाता खोल्ने, नगरभित्रको विद्यालयहरुका लागि स्टाफ नर्स राख्ने जस्ता केही मागहरु चाँडै सम्बोधन गर्ने तयारी गरेका छौँ ।”

उता, प्रजिअ शर्माले पनि अनेम सङ्घ क्रान्तिकारीले बुझाएको ज्ञापनपत्रको बारेमा आफ्नो तर्फबाट गर्न सकिने सबै पहल गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईको उपस्थितिमा बुझाइएको ज्ञापनपत्रको बारेमा नगरप्रमुख र प्रजिअले तत्काल कार्यान्वयन नगरेको खण्डमा सङ्गठनले आन्दोलनसमेत गर्ने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया