खोटाङ, ४ असोज । पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान शुरु गरेको छ । प्रतिष्ठानले कोभिड–१९ को महामारीले बन्द भएका विद्यालयहरु सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान शुरु गरेको हो ।
प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रा.लि. काठमाडौँ र अभिनेत्री मनिषा कोईरालाको एनसीभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्रीहरु वितरण अभियान शुरु गरिएको प्रतिष्ठानका संरक्षक रविन चाम्लिङले बताउनुभयो । “शुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित २२ वटा माविमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका विद्यालय सकेपछि क्रमशः जिल्लाका सबै मावि तथा सामुदायिक र संस्थागत विद्यालयहरुमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्ने योजना बनाएका छौँ ।”
प्रतिष्ठानले आज (सोमबार) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सातवटा मावि र छ वटा आधारभूत विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण कार्यक्रममा अक्षकोषका लागि रु ५० हजार सहयोग गर्नुका साथै एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण गर्ने दुईजना छात्र÷छात्रालाई उच्च शिक्षा अध्ययनेसमेत घोषणा गरेको स्थानीयबासी एवम् नेकपा एमालेका युवा नेता मिलन राईले जानकारी दिनुभयो ।
प्रतिष्ठानले यसअघि आइतबार दिक्तेल बजारमा सञ्चालित सरस्वती मावि दिक्तेलमा औपचारिक कार्यक्रम गरी ११ वटा माविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरेको थियो । काठमाडौँमा सञ्चालित प्रतिष्ठानले जिल्लामा स्वास्थ्य तथा खेलकुदका सामग्री ल्याएर शनिबार नेर्पाको कालिका माविमा औपचारिक कार्यक्रमगरी उक्त अभियानको शुरुवात गरेको हो ।
प्रतिष्ठानले नेर्पाका छवटा माविलाई दश हजार मास्क, पाँच लिटरको २४ जार सेनिटाइजर र प्रत्येक विद्यालयलाई भलिबल र नेट (जाली) एक÷एक थान, सानो भलिबल दुई÷दुई वटा र तीन÷तीनवटा फोहर सङ्कलन गर्ने डस्टबिन (भाँडा) वितरण गरेको छ । एकमुस्ट हस्तान्तरण गरिएको मास्क र सेनिटाईजर भने विद्यालयहरुले विद्यार्थी सङ्ख्याको आधारमा बाँडफाँड गर्ने जनाइएको छ ।
नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिबल दुई÷दुईवटा, टिटि ब्याट÷बल दुई÷दुईवटा, पम्म एक÷एकवटा र डस्टबिन तीन÷तीनवटा वितरण गरेको छ । यस्तै, प्रतिष्ठानले नेर्पाका सातजना बृद्धबृद्धालाई शनिबार सम्मानसमेत गरेको छ । स्वास्थ्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमको अवसरमा नेर्पाका धनप्रसाद पराजुली, कुमारी कृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, वृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई घङ्गरुको लट्ठीसहित सम्मान गरेका हो ।
यसैबीच, प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नुभएको छ । कालिका माविबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई वार्षिक ब्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गर्नुभएको हो ।
जिल्लाका चर्चित नेता एवम् सांसद स्वर्गीय पर्शुराम राईको स्मृतिमा उहाँका छोराछोरीले प्रतिष्ठान स्थापना गरेको हो । राष्ट्रिय पञ्चायतका उपाध्यक्ष तथा राजसभा सदस्यसमेत हुनुभएका पर्शुराम जत्तिको नेता जिल्लामा अहिलेसम्म नजन्मिएको भन्ने गरिन्छ ।