काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि पहिला गठबन्धनभित्रै एकता गर्न चुनौति दिनुभएको छ । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने दाबी गर्नुभयो ।
पाँच दलीय गठबन्धनमा सहमति जुट्न नसकेकै कारण अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको उहाँको भनाइ थियो । ओलीले सरकारलाई राष्ट्रसंघमा सहभागी हुनुपर्छ भनेर पनि हिजोका दिनमात्र थाहा भएर हतार हतार परराष्ट्रमन्त्री नियुक्त गरेको टिप्पणी गर्नुभयो ।
“यतिका दिनसम्म पनि राष्ट्रसंघको बैठकमा जानुपर्छ भन्ने थाहा पाएनछ”, उहाँले भन्नुभयो, “हिजो बल्ल थाहा पाएर हतार हतार मन्त्री नियुक्त गरेर पठाएको छ, त्यो पनि कपडाको झोला बोकेर मन्त्री त्यसतर्फ गएका छन् । तयारी हेर्नुस् त !”
उहाँले एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा सरकार विस्तारमा यतिका दिन नलगाउने प्रस्ट पारे । “तीन दिनभित्र सरकारलाई पूर्णता दिन सक्छौं, उस्तै परे उसै दिन पनि पूर्णता दिन सक्छौँ”,’ उहाँले भन्नुभयो, ‘एमालेमा पदका लागि मरिमेटाइ हुँदैन ।”
उहाँले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा कतिपय नेताहरु मन्त्री पद पाउनका लागि सामेल भएको बताउनुभयो । तर एमालेमा कतिपले मन्त्री पद छाडेर, सांसद पद छाडेर पनि देश र जनताको पक्षमा उभिन्छु भनेर सामेल भएको ओलीको भनाइ छ ।