काँग्रेस खोटाङको नगर÷गाउँपालिका अधिवेशन : चारमा सर्वसहम, पाँचमा निर्वाचन र एकमा स्थगित

Halesi Khabar
0 Shares

खोटाङ, ९ असोज । नेपाली काँग्रेसको नगर÷गाउँपालिका अधिवेशन अन्तरगत खोटाङका दश स्थानीय तहमध्ये चारमा सर्वसहमत, पाँचमा निर्वाचन तथा एकवटा पालिकामा स्थगित भएको छ । काँग्रेसले ऐसेलुखर्क, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा सर्वसहम नेतृत्व चयन गरेको हो ।

ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसहम सभापति चयन हुनुभएको काँग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो । ती चार स्थानीय तहमा अन्य आकांक्षी भएपनि सहमतिमै नेतृत्व चयन गरिएको सचिव श्रेष्ठको भनाइ छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा, र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र बिस्ट र खोटेहाङमा प्रेम थापा निर्वाचित हुनुभएको छ ।

दिक्तेल रुपाकोट मझुवागढीमा रामचन्द्र राईलाई ६२ मतले पछि पार्दै श्रेष्ट निर्वाचित हुनुभएको छ भने, हलेसी तुवाचुङमा रमेश राउतलाई ६७ मतले पछि पार्दै राई विजयी हुनुभएको जिल्ला सचिव श्रेष्ठले जानकारी दिनुभयो । सचिव श्रेष्ठका अनुसार यी दुवै नगरपालिकामा अन्य पदाधिकारी भने दुवै पक्षका उम्मेदवारहरुमध्ये मिश्रितरुपमा विजयी भएका छन् ।

जन्तेढुङ्गामा अमित राईलाई १५ मतले हराउँदै बिस्ट विजयी हुनुभएको काँग्रेस खोटाङले जनाएको छ । खोटेहाङमा राजु ढकाललाई १३ मतले पछि पार्दै थापा विजयी हुनुभएको छ भने, केपिलासगढीमा गोपाल राईलाई छ मतले पछि पार्दै हेमन्त विजयी हुनुभएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको काँग्रेस खोटाङले जनाएको छ । समाचार स्रोतका अनुसार वडा नं.–१ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आइतबारलाई सारिएको हो ।

गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औँ मतपत्र समावेशी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा काँग्रेसको वडा अधिवेशन विवादकाबीच टुङ्गिएको थियो । वडा अधिवेशन षड्यन्त्र र धाँधलीपूर्ण भएको भन्दै नेपाल विद्यार्थी सङ्घ खोटाङका उपाध्यक्ष नइन्द्र राईले भदौ २२ गते दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पुनः वडा अधिवेशनको माग गर्नुभएको थियो ।

याम्खाको वडा अधिवेशनको विवाद छानविनका क्रममा रहेकाले गाउँपालिका अधिबेसन सुरु गर्ने÷नगर्ने भन्नेमा मतभेद शुरु भएपछि छानविन समितिले शनिबार ‘वडा अधिवेशन प्रकृयागतरुपमा सही भएको’ प्रतिबेदन उपलब्ध गराएको थियो । सो प्रतिबेदन प्राप्त भएपछि दुबैपक्षको सहमतिमा अधिवेशन आइतबारका लागि सारिएको हो ।

 

तपाईको प्रतिक्रिया