ईश्वर पोखरेलको गोलचक्कर : एमाले कस्तो बनाउने ?

Halesi Khabar
0 Shares

काठमाडौँ, १० असोज । नेकपा एमालेको असोज १५–१७ गते गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रस्ताव महासचिव ईश्वर पोखरेलले तयार पार्नुभएको हो । महासचिवको प्रस्तावमाथि स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल भइसकेको छ । अब यो प्रस्ताव विधान महाधिवेशनमा प्रस्तुत हुनेछ ।

आफ्नो सङ्गठनात्मक प्रस्तावमा महासचिव पोखरेलले एमालेको सङ्गठनात्मक सिद्धान्त कस्तो हुने भन्नेबारे चर्चा गर्नुभएको छ । एकातर्फ पोखरेलले एमालेको सिद्धान्त ‘लेनिनवादी सङ्गठनात्मक सिद्धान्त’ अनुरुप हुने बताएका छन् भने अर्कोतर्फ जबजको मार्गदर्शन अनुसार सङ्गठन सञ्चालन हुने भन्नुभएको छ ।

तर, एमालेको सङ्गठनात्मक सिद्धान्तलाई जबजले मार्ग निर्देश गर्नुपर्छ भन्दाभन्दै पनि महासचिव पोखरेलले ‘पार्टी जीवनको लोकतान्त्रिकरणको मूल मर्ममा असर नपुग्ने गरी’ त्यसमा सुधार गर्नु आवश्यक रहेको औँल्याएका छन् । महासचिव पोखरेलले एमालेभित्र अराजकता र अनुशासनहीनता बढेको देखेका छन्, तर पार्टीभित्रको लोकतन्त्र कमजोर बनेको त्रुटिचाहिँ देखेका छैनन् ।

एकातर्फ केपी ओलीलाई पनि बेखुस नबनाउने र अर्कोतर्फ जबजको सङ्गठनात्मक व्याख्या पनि सँगसँगै गर्नुपर्ने दोहोरो मारमा परेको देखिन्छ महासचिवको सङ्गठनात्मक प्रतिवेदन । महासचिवद्वारा प्रस्तुत प्रतिवेदनको सुरुमा नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुट, एकता र विभाजनबारे चर्चा गरिएको छ ।

झापा विद्रोह, माओवादी सशस्त्र सङ्घर्ष हुँदै एमालेसम्म आइपुग्दाको व्याख्या गरिएको छ । केपी ओलीले पार्टीभित्र बहुपदीय प्रणाली भित्र्याएर पार्टी जीवनमा लोकतान्त्रीकरणको अभ्यास सुरु गरेको बताएका महासचिव पोखरेलले केपी ओलीको अध्यक्षतामा भएको अभ्यासको सन्तुलित चर्चा गरेका छैनन् ।

नवौँ महाधिवेशनपछि पार्टीमा अराजकता बढेको बताउनुभएका उहाँले संस्थापन पक्षबाट भएको कमजोरीको चर्चा गर्नुभएको छैन । महासचिव पोखरेलले केपी ओलीका सन्दर्भमा कुनै टिप्पणी नगरे पनि नेतृत्वको सहज हस्तान्तरणको आवश्यकता भने औंल्याएका छन् ।

पोखरेलको प्रतिवेदनमा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) को धेरै ठाउँमा प्रशंसा गरिएको छ । उहाँले जबजलाई मार्क्सवाद–लेनिनवादजस्तै ‘मार्गदर्शक सिद्धान्त’ बताउनुभएको छ ।
एमालेको अबको लक्ष समाजवाद रहेको र सोही अनुरुपको पार्टी बनाउनुपर्ने महासचिव पोखरेलको विश्लेषण छ । संविधानले समेत समाजवादको आधार तयार गर्ने कुरालाई प्रस्तावनाको अङ्गका रुपमा स्वीकार गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया