माओवादीको पालिका सम्मेलन स¥यो, असोजको साटो मंसिरमा

Halesi Khabar
0 Shares

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलनको तिथि भने सारिएको छैन । तर, सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहका सम्मेलनहरूको मिति परिवर्तन गरेको स्थायी कमिटीका नेता देव गुरुङले बताउनुभयो ।

यसअघि माओवादीले असोज ३० गते पालिका स्तरीय सम्मेलनहरू गर्ने भनेको थियो । तर, असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको हो । ‘कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरो छ,’ नेता गुरुङले भन्नुभयो, ‘राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।’

यसअघि, गत साउन ३० मा सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाएको थियो । त्यसैगरी असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला भनिएको थियो । असोज २० गते वडा सम्मेलनहरू गर्ने र असोज ३० गते दसैंका बेला देशभरिका सबै गाउँपालिका र नगरपालिका सम्मेलन भनिएको थियो ।

यो कार्यतालिका अनुसार अहिले देशभरि टोल र वठा सम्मेलन भइरहेका छन् । यसअघि माओवादीले कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते. प्रदेश सम्मेलन गर्ने भनेको थियो । जिल्ला र प्रदेश सम्मलेनहरु भने सरेका छैनन् । यद्यपि माओवादीले विधानबाटै जिल्ला समिति खारेज गर्ने निर्णय गरिसकेको छ ।

स्थानीय तह र प्रदेशका सम्मेलनहरुको समय अलि साँघुरो भएकाले सच्याइएको नेता गुरुङले बैठकपछि सञ्चार माध्यमलाई जानकारी दिए । उहाँले भन्नुभयो, ‘पहिला भएको टाइम अलि टाइट भयो । भ्याइएन, टाइम सार्नुपर्यो भन्ने कुरा सिफारिस भएको हुनाले त्यही अनुसारको छलफल भयो ।’

स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थपेको छ । स्थानीय अधिवेशनको समय सारे पनि प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको समय भने नसारिएको गुरुङले बताउनुभयो ।

पार्टी सदस्यको नवीकरण असोज मसान्तसम्म जारी राख्ने र टोल भेलाहरु कात्तिक ६ गते गर्ने सोमबारको बैठकमा निर्णय भएको गुरुङले जानकारी दिनुभयो । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै माओवादी नेता गुरुङले भन्नुभयो, ‘अहिलेको समसामयिक स्थितिका बारेमा अध्यक्षले ब्रिफिङ लिनुभयो । मुख्यरुपमा पार्टीका आन्तरिक सम्मेलनहरुको तयारीका विषयहरुमा छलफल भएको छ ।’

तपाईको प्रतिक्रिया