खोटाङ, ११ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका सभापतिमा अमृत गिरी चयन हुनुभएको छ। गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी गाउँपालिका सभापतिमा निर्विरोध चयन हुनुभएको हो।
वडा-१ याम्खाको वडा अधिबेसनको विषयलाई लिएर गाउँपालिका अधिबेसन दुई दिनपछि ढकेलिएको थियो ।आइतबारका लागि सारिएको गाउँपालिका अधिबेसन सहमतीको प्रयासका लागि भन्दै पुःन सोमबार बिहानका लागि सारिएको थियो । निर्वाचन अधिकृत पञ्चुकुमार राईले ‘सोमबार बिहान ८ बजेसम्म सहमतीको प्रयास जारी राख्ने र सहमती नभए बिहान ९ बजेबाट चुनावी प्रकृया अघि बढाउने’ सूचना समेत टाँस गरेका थिए ।
तर, पदाधिकारी सहित ९ जनाको समुह बनाएर सभापतिमा उम्मेद्वारी दिएका खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी गाउँपालिका सभापतिमा निर्वाचित भएको कांग्रेसले जनाएको छ । २०४६ साल बैशाख २४ गते जन्मिनुभएका गिरी जिल्लाकै कान्छो पालिका सभापति बन्न सफल हुनुभएको हो । दश स्थानीय तह रहेको जिल्लामा जिल्लाका १० वटै स्थानीय तहमध्ये नौ स्थानीय तहमा कांग्रेसको नगर/गाउँपालिका अधिबेसन टुंगिसकेको छ ।