साकेलामा अशक्त नागरिकको घरमै लगेर नागरिकता वितरण

0 Shares

खोटाङ, १३ असोज। साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाण-पत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाण-पत्र वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं.-२ रतन्छाका ९६ वर्षीय नन्दलाल फुयाँल, वडा नं.-४ मात्तिमका २० वर्षीय खगिन दर्जी, वडा नं.-३ खिदिमा बोराटोलकी २५ वर्षीय कृष्णकुमारी खत्री र २५ वर्षीया रामकुमारी राईलाई नेपाली नागरिकताको प्रमाण-पत्र उपलब्ध गराएको जनाइएको छ । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुसूचि तयार गरेर प्रशासन पठाएपछि प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहबरमा गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले नागरिकताको प्रमाण-पत्र वितरण गर्नुभएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो

गाउँपालिकाभित्र रहेका अन्य जेष्ठ नागरिक तथा अशक्त व्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि क्रमशः उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाण-पत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले पाउने नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक कागजात गाउँपालिकामै तयार पारेर आफ्नो प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा सम्पूणर् प्रकृया पुरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र तयार भएपछि प्रशासनकै प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नेपाली नागरिकताको प्रमाण-पत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य भएका उनीहरु नागरिकता लिन प्रशासन आउन सक्ने सम्भावना थिएन । नागरिकताको प्रमाणपत्र नभइ राज्यले दिने सुविधा पाउने कुरा पनि भएन”, उहाँले भन्नुभयो, “उनीहरुलाई राज्यले दिने सेवा सुविधाबाट वञ्चित हुन नदिन मानवीय हिसाबले उनीहरुको घरैमा प्रशासनको प्रतिनिधि पठाएर नागरिकताको प्रमाणपत्र वितरण गरिएको हो ।”

नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरुले बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरेपछि नागरिकताको प्रमाणपत्र विहिन अशक्त र अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो ।

नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएसँगै जेष्ठ नागरिक तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताउनुभयो । जिल्लाको सबैभन्दा सानो पाँच वडामात्र रहेको साकेला गाउँपालिकामा गत वर्षदेखि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्ता गाउँपालिकामा सामाजिक सुरक्षाभत्तामा चरम लापरवाही भएको समाचार सार्वजनिक भएको थियो । यतिसम्म कि सो गाउँपालिकामा हुँदै नभएका व्यक्तिको नाम प्रयोग गरेर वर्षौँदेखि तीनजनासम्मले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको खुलासा भएको थियो ।

कर्मचारीको मिलेमतोमा मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फूलसरी राईको नाममा वर्षैँदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको खुलासा भएको थियो । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर वर्षौँदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी तीनै जना फूलसरी राई सो वडामै छैनन् ।

तपाईको प्रतिक्रिया