–भीम राई
नेपालमा आवधिक हिसाबले हरेक दश वर्षमा हुने राष्ट्रिय तथ्याङ्क सङ्कलन हुने गर्दछ । राष्ट्रिय जनगणनाको नामबाट आउने तथ्याङ्क सङ्कलनको कार्य प्रारम्भ भइसकेको छ । कुनै अर्कै कामको मेसोमा हलेसी तुवाचुङ नगरपालिकाको हलेसी बजारमा केहीदिन अगाडि पुगियो । त्यहँ भेटियो एकजना पुराना कम्युनिष्ट नेता रत्न राई उर्फ दर्शन किराँती ।
शुरुमा ०३६÷०३७ सालतिर तत्कालीन नेकपा मालेबाट कम्युनिष्ट राजनीतिमा लागेका । २०४७ सालबाट एमाले बनेका २०५४ सालमा तत्कालीन हलेसी गाउँ विकास समितिबाट उपाध्यक्ष जितेर जिल्ला विकास समितिको सदस्य बनेका र पछिल्लो समयमा माओवादी आन्दोलनमा हिँडेका व्यक्ति हुन् दर्शन ।
तत्कालीन नेकपा माओवादीमा भूमिगत हुनु अगाडि रत्न राई रहेका आन्दोलनमा भूमिगत भएपछि दर्शन किराँतीका हिसाबले चिनिएका व्यक्ति अहिले कुनै पार्टीमा पनि नरहेको बताउँछन् । तर, उनको टिप्पणी र अभिव्यक्ति निकै खरो र क्रान्तिकारी धारमा पटक पटक आइरहेका हुन्छन् ।
उनै दर्शन किरातीसँगको भेटमा राष्ट्रिय जनगणनामा जातिको महलको विषयमा कुरा निस्कियो । दर्शन किराँतीले शुरुमै अबको जनगणनामा सम्पूर्ण राई समुदायले जातिको महलमा किराँत लेख्नुपर्ने तर्क अगाडि सार्नुभयो । उहाँले राई समुदायले मात्र होइन भाषिक हिसाबले नजिक रहेका सम्पूर्ण जनजाति समुदायले समेत जातिको महलमा किराँत लेख्नु पर्नेमा जोड दिनभयो ।
मैले मेरो व्यवसायिक धर्ममा रहेर प्रश्नहरु गरेँ ? किन लेख्ने ? राईले लेख्ने कुरा एउटा रह्यो अन्य समुदायको जनजातिहरुलाई कुन साइनोले किराँती लेख्न सुझाउने होला ? मेरा प्रश्नले उहाँलाई थप बोल्न बाध्य बनाउने नै भयो । अझ राईको ठाउँमा किराँत लेख्नुपर्छ भन्ने अभियानमा लागेका उहाँले तर्कले पेल्न किन छाड्नु हुन्थ्यो ।
उहाँले शुरु गर्नुभयो । हेर्नुस् भाइ अहिले जो जसले जातिको महलमा राई लेख्न अनुरोध गरिरहेका छन् उनीहरुलो इतिहास ध्वस्त बनाउँदैछन् । उनीहरुले हामी हाम्रा सन्तानलाई नेपालको मल्ल जातिको हालतमा पु¥याउने बाटोमा छन् ।
मैले भने, कसरी ? उहाँ यसपछि थप्नु हुन्छ । नेपालको इतिहासमा शुरुमा शासन गर्ने हरुको इतिहास सबैले पढेकै हो । नेपालमा सबैभन्दा अगाडि गोपाल वंशीहरुले शासन गरे, यसपछि महिषपालहरु शासनमा आए ।
त्यसपछि आएको शासन थियो मल्लकालीन शासन । त्यसबेला राज खानदान मल्लहरुको थियो । त्यहिबेला काठमाडौँका ती सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भए । मठमन्दिरहरु बने ।
विकासको शुरुवात भयो । त्यसबेला सबैले खाना खाएपछि खाने राजा महिन्द्र मल्ल भन्ने पनि पढिएकै हो । जयप्रताप मल्लको कुरा पनि उत्तिकै छ । यस्ता धेरै सम्झन योग्य इतिहास रहेको मल्ल राजाहरु र उनीहरुको शासनको इतिहास त छ तर, उनीहरुको सन्तान छैन ।
अहिले त्यसबेलाको राज खलक मल्लहरु कुनैठाउँमा आफूले नभेटेको उहाँको तर्क आयो । यो कसरी भयो होला ? मैले फेरि थपेँ । यो त्यसबेला जति लोकप्रियता थियो । त्यसपछि मल्लपछि लिच्छवी राजाहरुले शासन हत्याए ।
शासन हत्याएसँगै हस्तक्षेप चरम बन्यो ? हुँदा हुँदा लिच्छवीहरुले यतिसम्म गरेकी मल्लको नाम सुन्ने बित्तिकै सफाय गर्ने गरे होला । यसपछि मल्लहरु हराए । अहिले त्यो बेलाको मल्ल भेटिन्न ठकुरी अर्थात लिच्छवी मल्लमात्र भेटिन्छ ।
यो के कारणले भयो भने उनका सन्ताले मल्ल नलेखेर ठकुरी या अरु नै कुनै थर भन्दै र लेख्दै आएकाले यस्तो भयो । हो यस्तै लिच्छवीपछि बनेका राजा हुन् किराँती राजा यलम्बर ।
यलम्बरको शासन ३२ पुस्ता चलेको पनि इतिहास छ । किराँती राजा यलम्बर हुन् । भने अहिले हामी उनै किराँती राजा यलम्बरको सन्तान हौँ चाही भन्ने अनि जातचाँही राई लेखेर भावी पुस्तालाई मल्ल बनाएर छाड्नु पर्ने अवस्था आइपुगेका होइन र ?
उहाँको प्रति प्रश्नले मलाई चसक्कै बनायो । यद्यपि, मैले फेरि शुरुकै अर्को मेरो जिज्ञासालाई दोहो¥याएर धर्म पुरा गर्ने निधो गरेँ । अनि दाइ अघि तपाईले त अन्य भाषा निकट रहेका जनजातिले समेत धर्मको महलमा किराँत लेख्नुपर्छ भन्दै हुनुहुन्थ्यो त कसरी ?
उहाँले आफ्नो कुरा अगाडि बढाए । हो मैले यो पनि एउटा तथ्यका आधारमै भन्न खोजेको हुँ । किन भने भाषा मिल्नु भनेको कुनै समयमा हामी एउटै वंशमा थियौँ भन्ने प्रमाण हो । जस्तो कतिपय भाषाहरुले हामीलाई निकटमा ल्याउने भनेरमात्र हुँदैन । भाषाहरु निर्माण हुन लाखौँ वर्षहरु पार गरेर बनेका हुन्छन् । तर, जुन मुलभाषा हो त्यो कतिपय त्यो हु बहु सर्दै आउने गर्दछ ।
जस्तो हाम्रा भाषाहरुमा आगो, पानी दाउरा जस्ता भाषाहरु हेर्नुस् त । राईका सबै पाछाहरुले आगोलाई भन्ने भाषा नै मगरले, गुरुङले, शेर्पाले, तामाङले भनिरहेका छन् । लिम्बु, सुनुवार आदिको त झन कुरै नगरौँ ।
अब पश्चिमको मगर र गुरुङ सँग पूर्वको लिम्बु र राईको भाषाहरुले एउटै अर्थ बुझाउनुले कुनै बेला यी जातिहरु एउटै किराँतीका सन्तान होइन होला र ? त्यसो भएकाले मैले जातिको महलमा किराँती धर्मको महलमा प्रकृति पूजक भनौँ भनेको ।
यति भनेपछि मैले दाइलाई रोकेर भने दाइ मलाई अलि हतार छ । पछि भेटेर कुरा गर्छु है । भनेर झोला र क्यामेरा टिपेर लागेँ हलेसीभन्दा माथिको ककनीडाँडा । किनकी मैले यहाँ तर्क गरि साध्य छैन ।