काठमाडौँ, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गर्नुभएको छ । यद्यपि, आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढङ्गले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उहाँको भनाइ छ ।
अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग सङ्घर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताउनुभयो ।
भारतीय फिल्म भगत सिंहमा चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रशङ्ग उहाँले सुनाउनुभयो । आफू पनि झण्डैझण्डै यस्तो अवस्थामा पुगेको भन्दै प्रचण्डले अघि भन्नुभयो, ‘आत्मसमर्पण त गर्न सक्दिनँ, हजारौं शहीद, घाइते अपाङ्गको ऋण मेरो टाउकोमा छ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें ।’
यसो भन्दैगर्दा उनको गला अवरुद्धजस्तै भएको थियो । पार्टीका सबै नेताहरुको सहयोगबाट फेरि लड्ने सङ्कल्प गरेको भन्दै उहाँले भन्नुभयो, ‘जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’
माइतीघर मण्डलाको सडकमा बस्दा जनताको समर्थन हुने हो कि होइन ? कार्यकर्ताले साथ दिने हो कि होइन भन्ने आशंका रहेको उहाँले बताउनुभया । तर, सडकमा आउँदा मुक्ति पाएको अनुभूति भएको भन्दै प्रचण्डले भन्नुभयो, ‘तर सबै कार्यकर्ता सडकमा आए ।’
२०५२ फागुनमा जनयुद्धको अन्तिम तयारी गर्दा पनि यस्तै भएको प्रचण्डले सुनाए । त्यसबेला दुई जना वैकल्पिकसहित १७ जनाको केन्द्रीय सदस्य रहेको भन्दै उहाँले भन्नुभयो, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो । होलटाइमर ६०÷६५ जना थिए, उनीहरुमध्ये पनि धेरैजसो भाग्छन् होला जस्तो भनिएको थियो ।’
तर, जनयुद्ध शुरु भएपछि हजारौं मानिस आवद्ध भएको, अवसरवादी होला भनेका नेताहरु धेरै महान् भएका उहाँले सुनाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघि भन्नुभयो, ‘हामीले यो आन्दोलनबाट के सिक्यौं भने बिग्रिएको कार्यकर्ता होइन, नेता हो । र, अझ विशेष रुपमा सच्चिन मैले आफैंबाट शुरुवात गर्नुपर्ने हुन्छ ।’