काठमाडौँ, १५ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुङ्गिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने अडानबाट प्रभु साह टसको मस भएका छैनन् ।
बिहीबार राति अबेरसम्म एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेल, सङ्गठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल लगायतको टोलीले पूर्वमन्त्री प्रभु साहसँग वार्ता गरेका थिए । छलफलका क्रममा एमाले नेताहरुले एउटा विज्ञप्तिमार्फत प्रभु साहको ८ बुँदे मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउन तयार रहेको बताएका थिए ।
विज्ञप्ति जारी गरेपछि विधान महाधिवेशनमा साहले सहभागिता जानाउनुपर्ने एमाले नेताहरुले आग्रह गरेका थिए । प्रभु साहसँग भएको छलफलमा केहीबेर अर्का पूर्व माओवादी नेता लेखराज भट्ट पनि सहभागी भएका थिए । तर, भट्ट प्रभु साहलाई समर्थन नगरी भने ‘रिजर्भ’ मा बसेको सहभागी एक एमाले नेताले रातोपाटीलाई बताउनुभयो ।
पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा प्रवेश गरेका प्रभु साह औपचारिकरुपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तर, उनी एमालेका बैठकहरूमा सहभागी हुने गरेका छैन ।
सहभागी भएका केही बैठकमा पनि उनले माइन्युटमा हस्ताक्षर नगरी हिँड्ने गरेका छन् । आजबाट सुरु हुने विधान अधिवेशनमा पनि आफ्ना ८ बुँदे मागहरु पूरा नभएसम्म साहले उपस्थित नहुने बताउँदै आएका छन् ।
विधान अधिवेशनमा साहलाई उपस्थित गराउनका लागि एमाले नेताहरुले साहलाई फकाउने प्रयास जारी राखेका छन् । यही क्रममा बिहीबार बिहान एमाले अध्यक्ष ओलीले साहलाई बालकोटमा बोलाएर छलफल गरेका थिए ।
चाँडै पार्टीको स्थायी कमिटी सदस्यमा समायोजन गर्ने ओलीले आश्वासन दिए पनि साहले व्यक्तिगत रुपमा नभएर पूर्व माओवादी समूहका सबै साथीहरुको समायोजन र सम्मान हुनुपर्ने बताएका थिए । बिहान अध्यक्ष ओलीसँग छलफल गरेपछि साँझ महासचिवको टोलीले साहसँग थप छलफल गरेको हो ।
छलफलमा क्रममा साहले एमालेमा आवद्ध भएका ‘पूर्व माओवादी समूह’ लाई समूहगत रुपमा सम्वोधन गरिनुपर्ने माग राखेका थिए भने एमाले महासचिव ईश्वर पोखरेलले त्यसरी ‘पूर्व माओवादी समूह’ भन्दा गुटबन्दीको अर्थ लाग्ने भन्दै त्यस्तो पदावली प्रयोग नगरी सहमति गरौं भनेका थिए ।
तर, ‘पूर्व माओवादी समूह’लाई मान्यता दिनै पर्ने साहले अडान राखेपछि वार्ता विना निश्कर्ष सकिएको स्रोतले बतायो । तथापि शुक्रबार बिहान अध्यक्ष ओलीसँग भेटेर थप छलफल गर्ने र शुक्रबार नै सहमति नभए आगामी दिनमा छलफल गर्दै जाने निष्कर्षसहित वार्ताबाट उठेको एक नेताले बताएका छन् ।