गठबन्धनको बैठक नबस्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ

Halesi Khabar
0 Shares

काठमाडौँ, १५ असोज । आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ ।

आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो । बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् । आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए ।

तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका छन् । ‘बुधबार नै बैठक राखेर टुङ्ग्याउने कुरा थियो तर शुक्रबार भैसक्यो बैठक बस्ने तरखर अझै देखिएको छैन’ गठबन्धनका एक नेताले भने, ‘प्रधानमन्त्रीले बैठक नबोलाएसम्म मन्त्रिपरिषदले पूर्णता पाउने देखिँदैन । उहाँले किन नबोलाएको हो बुझ्न सकिएन ।’

एकीकृत समाजवादीका नेता विरोध खतिवडाले माधव नेपाल विरामी भएकाले गठबन्धनको बैठक बस्न नसकेको भन्ने समाचारमा सत्यता नभएको बताउनुभयो । ‘अध्यक्षले अधिकार प्रत्यायोजन गरिसक्नुभएको छ । उहाँ उपस्थित नभएर निर्णय गर्न कुनै अप्ठेरो छैन’, खतिवडाले भन्नुभयो ।

सोमबारदेखि अध्यक्ष नेपाल अस्वस्थ भएका थिए । सोमबार मंगलबार घरमै आराम गरेका नेपाल बुधबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा केही सुधार आएपनि उनको तत्कालै डिस्चार्ज हुने सम्भावना नरहेको बताइएको छ ।

‘स्वास्थ्यमा केही सुधार भएको छ । तर, अस्पतालले डिस्चार्जको कुरा गरेको छैन । सम्भवतः शनिबारसम्म डिस्चार्ज हुन्छ कि भन्ने छ’, अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । नेता नेपाललाई खोकी र ज्वरोले सताएको थियो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले शुक्रबार बैठक बस्ने भनिए पनि समय यकिन भइनसकेको बताउनुभयो । प्रधानमन्त्री देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया