काठमाडौँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखले सहयोगी भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप पनि लगाउनुभयो ।
उहाँले त्यस्ता गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढङ्गले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो । ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौं’, ओलीको भनाइ छ ।
शुक्रबार विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी समेत गर्नुभयो ।
‘पार्टी एकता जोगाउनका लागि प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तरसंघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो’, अध्यक्ष ओलीको भनाइ छ ।
उहाँले पार्टी एकतालाई जोगाउन माओवादी पृष्ठभूमिका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पुर्याएको स्पष्ट पार्नुभयोे ।