काठमाडौँ, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भएको आरोप लगाउनुभएको छ । शुक्रबारबाट ललितपुरमा शुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने भन्नुभएको छ । “नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ”, ओलीले भन्नुभयो ।
त्यस्तै उहाँले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै भएको बताउनुभएको छ । ओलीले माओवादी केन्द्र, मूलतः प्रचण्ड अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच भएको भन्दै त्यस्तो व्यवहारप्रति विमति रहने जनाउनुभयो ।
ओलीले मधेस केन्द्रीत दलहरूमाथि पनि टिप्पणी गर्नुभयो । मधेसकेन्द्रित दललाई ओलीले संकिर्ण, यथास्थितिवादी भनेका छन् । “मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ”, ओलीले भन्नुभयो ।
उहाँले कतिपय दलहरुले राजतन्त्र फर्काउन चाहेको र कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् भन्दै यसमा आपत्ति र विरोध रहेको जनाउनुभयो । बहुदलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व हासिल गर्ने नीति लिएको पार्टीले कुनै दल विशेषलाई प्रमुख दुश्मन घोषणा गर्ने जस्ता कम्युनिष्ट आन्दोलनका अतिवादी गल्तीबाट भने मुक्त रहनुपर्ने उहाँले बताउनुभयो ।