प्रकाशमानको प्रश्न : गणेशमानको छोरा हुँदैमा म अयोग्य हुने ?

Halesi Khabar
0 Shares

काठमाडौँ, १६ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । शनिबार पार्टीको काठमाडौं महानगरपालिका समितिको अधिवेशन उद्घाटन गर्दै उहाँले काँग्रेसलाई सक्षम बनाउन आफू ‘फस्र्ट म्यान’ बन्न अघि बढेको बताउनुभयो ।

“काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?” उहाँले भन्नुभयो, “अरुको छोराहरुले त अवसर पाएका छन् त !”

उहाँले उपत्यकाबासीले बाहिरबाट आएका नेतालाई मात्र साथ दिएको दुखेसो गर्नुभयो । उपत्यकाका कांग्रेस कार्यकर्ताले आफ्नो नेतालाई सधैं सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गर्नुभयो ।

“उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने र बाहिरबाट आएको नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काका बासीले कहिलेसम्म बोक्ने ?” उहाँले प्रश्न गर्नुभयो ।

नेता सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले विश्राम लिनुपर्ने उनको भनाइ छ ।

“१३ औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि, तर क्रियाशील (सदस्यता विवाद) मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “अनि किन गुणगान गाउने ?”

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको बताउनुभयो । २०७४ सालमा काँग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवा असफल भएको भन्दै राजीनामा मागेका उहाँले बताउनुभयो ।

सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर शक्ति प्रदर्शन गरेको नेता सिंहको आरोप थियो । सभापति देउवाले कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको पनि उनले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया