एमालेसँग प्रतिवाद गरेर अघि बढ्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

Halesi Khabar
0 Shares

काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिनुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले एमाले नेता, कार्यकर्ताको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो । अबको डेढ वर्ष एमाले गणतन्त्र विरोधी, संघीयता विरोधी रहेको भन्दै जनतामा जान पनि उहाँले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरे आफ्नो पार्टीले एमाले विरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो । “केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।”, उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले देश, संविधान र गणतन्त्र बचाउन पनि एमाले विरुद्ध सशक्त ढङ्गले अघि बढ्नुपर्ने तर्क समेत गर्नुभयो । केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेडक्वार्टरमै बमबारी गर्नु परेको दाहालले दोहोर्याउनुभयो ।

उहाँले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताउँनुहुँदै उहाँले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया दिनुभयो ।

“आज म खुसी छु । अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे । राष्ट्रको हित गर्ने सबै मान्छेहरूसँग सहकार्य भएको छ”, उहाँले भन्नुभयो, “मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।”

अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्नु सही भएको बताउनुभयो । तर, केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नुपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया