खोटाङ, १९ असोज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)को विषम परिस्थितिमा नागरिकको सेवामा खटिने खोटाङका दश खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले कोभिड राहत उपलब्ध गराएको छ । जिल्ला फुटबल सङ्घको संयोजनमा एन्फाले जिल्लाका दशवटा फुटबल क्लवका एक-एक जना खेलाडीलाई कोभिड राहतस्वरुप नगद उपलब्ध गराएको हो ।
जिल्ला फुटबल सङ्घमा आवद्ध फुटबल क्लवको सिफारिस अनुसार अनुशासित, जेहेन्दार, उत्कृष्ट र सम्भावना बोकेका खेलाडीहरुको छनोट गरेर दशजना खेलाडीलाई जनही सात हजार ५०० का दरले एन्फाको कोभिड राहत प्रदान गरिएको जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार बुइपा एलाभेन स्पोर्टस् क्लवका तेजकुमार राई, नुनथला फुटबल क्लवका पवन राई, खोटाङ फुटबल एकेडेमीका रोशिस शैंजू, खारम्बु स्पोर्टंस् क्लवका शुभचन्द्र राई, हलेसी तुवाचुङ फुटबल क्लवका प्रवेश राई, सोल्मा स्पोर्टस् क्लवका नविन पोखरेल, नमूना स्पोर्टस् क्लवका सरोज राई, जन्तेढुंगा फुटबल क्लवका निश्चल राई, खोटाङ भगवती स्पोर्टस् क्लवका विपन राई र बाक्सिला फुटबल क्लवका रोशन राईलाई एन्फाको राहत प्रदान गरिएको हो ।
खेलाडीलाई फुटबल सङ्घका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घ प्रदेश नम्बर-१ का सदस्य समिर राईले चेक हस्तान्तरण गर्नुभएको जनाइएको छ । आफ्नो सदस्यस्ता दिएसँगै एन्फाले खोटाङमा खेलकुद सम्बन्धि गतिविधी गर्न थालेको हो ।