काठमाडौँ, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले असोज २० पछि जिल्ला अधिवेशन नगर्न जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएको छ । राप्रपाले आगामी कार्तिक २७ हुने महाधिवेशनलाई मध्यनजर गर्दै असोज २० गतेसम्म मात्रै जिल्ला अधिवेशन गर्न भनेको हो ।
सो पार्टीका केन्द्रीय निर्वाचन समितिका अध्यक्ष हरिबहादुर बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै असोज २० पछि कसैले जिल्ला अधिवेशन गरे मान्य नहुने चेतावनी समेत दिएका छन् । महाधिवेशनलाई मध्यनजर राख्दै जिल्ला तहसम्म गर्ने अवधि २०७८ असोज २० गतेसम्म थप भएको थियो ।
अर्को मिति नतोकिएसम्म २०७८ असोज २० गते उपरान्त जिल्ला अधिवेशन नगर्न÷नगराउन सम्बन्धित सबै राप्रपा जिल्ला निर्वाचन समितिहरुलाई अनुरोध गर्दै विज्ञप्ति जारी गरिएको छ । “कसैले गरेको पाइएमा मान्य नहुने व्यहोरा जारी गरिएको छ”, विज्ञप्तिमा भनिएको छ ।