काठमाडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् ।
काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल रहनुभएको छ । त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना नयाँ अनुहार रहेका छन् ।
यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बन्नुभएको छ । श्रेष्ठ यसअघि राज्यमन्त्री भएपनि अहिले क्याविनेट मन्त्री बन्नुभएको हो ।
यादव राज्यमन्त्री हुनुहुन्छ भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बन्नुभएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बन्नुभएको छ ।
समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिर्नुभएको हो । खापुङ पनि राज्यमन्त्री हुनुहुन्छ ।
यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमध्येमा पर्नुभएको छ ।