ठेकेदारले नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाको प्रशासनिक भवनको काम रोकियो

Halesi Khabar
0 Shares

खोटाङ, २३ असोज । ठेकेदार कम्पनीले ल्याबको नक्कली प्रतिवेदन बनाएर बुझाएको खुलासा भएपछि ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको काम रोकिएको छ । ठेकेदार कम्पनी रुज-जगदम्बा-भुवनेश्वरी एन्ड बैभव जेभीका ठेकेदारले निर्माणाधीन प्रशासनिक भवनको पिलरको गुणस्तर परीक्षण गर्दा ल्याबको नक्कली प्रतिवेदन बनाएपछि गाउँपालिकाले पत्र पठाएर काम रोक्न लगाएको हो ।

ठेकेदार कम्पनीले निर्माणाधीन भवनको काममा लापरवाही गरेकाले गाउँपालिकाको तर्फबाट गत भदौ-१५ गते औपचारिक रुपमा पत्राचार गरेर निर्माणको काम तथा भुक्तानी लगायतका सम्पूणर् प्रक्रिया रोकिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । गाउँपालिकाले पत्राचार गर्नुअघि नै निर्माण व्यवसायीले निर्माणाधीन प्रशासनिक भवनको पहिलो स्ल्याब ढलान गरिसकेका थिए ।

गाउँपालिकाको प्रशासनिक भवनको भुइँतलाको पिलरको गुणस्तर परीक्षणका लागि गत जेठ-२१ गते स्याम्पल (कङ्क्रिट क्युब) सङ्कलन गरिएको थियो । सङ्कलन गरिएका कङ्क्रिट क्युब परीक्षण गर्न ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको गाउँपालिकाले जनाएको छ ।

केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ उल्लेख गर्दै असार-२३ गते प्रतिवेदन दिएको थियो । तर, निर्माण कम्पनीले साउन-१० गतेमात्रै गाउँपालिकालाई ल्याबको प्रतिवेदन बुझाएको थियो ।

पहिलो प्रतिवेदन बुझाएको दुई दिनपछि त्रुटि भएको भन्दै अर्को प्रतिवेदन इमेलमार्फत गाउँपालिकामा पठाएको जनाइएको छ । जसमा ‘२३ असारमा परिपत्र भएको क्युब टेस्टको प्रतिवेदन मेसिनमा केही त्रुटि भई गलत भएकाले उक्त प्रतिवेदन फेरि सच्याएर पठाइएको’ उल्लेख छ । तर, भदौ-२७ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पनि गाउँपालिकालाई प्रतिवेदन पठाएको थियो ।

दोस्रो पटक प्रतिवेदन पठाएलगत्तै शङ्का लागेर अध्ययन गरेपछि मात्रै निर्माण कम्पनीले दिएको ल्याब प्रतिवेदन नक्कली भएको खुलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताउनुभएको छ । “प्राविधिक शाखामा पेश भएको ल्याब प्रतिवेदन अध्ययन गर्दा नक्कली र झूटो भएको आशङ्का भएपछि त्यसको पुष्टि गर्न गाउँपालिकाले केन्द्रलाई पत्राचार गरेको थियो”, उहाँले भन्नुभयो, “केन्द्रले जवाफ पठाएपछि निर्माण कम्पनीले सरकारी कागजात दुरुपयोग गरी नक्कली ल्याब प्रतिवेदन तयार गरेको पाइएको छ । यस विषयमा कानूनी कारवाहीको प्रक्रिया अगाढि बढाइएको छ ।”

निर्माण व्यवसायीले उपलब्ध गराएको प्रतिवेदनमा ल्याब इन्चार्जको हस्ताक्षर फोटोकपी गरेर टाँसिएको छ । त्यस्तै, पत्रमा ‘महोदय’, ‘चिठ्ठी’ जस्ता शब्द प्रयोग गरिएका छन् । जसका आधारमा गाउँपालिकाले शङ्का लागेर पुष्टि गर्न खोजेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि गणेश राईले भने, ल्याबको प्रतिवेदन नक्कली नभएको दाबी गर्नुभएको छ । गाउँपालिकाका इन्जिनियर बाबुराम राउतसँग लेनदेनमा कुरा नमिलेपछि ल्याब परीक्षण प्रतिवेदन गलत भनिएको कम्पनीका प्रतिनिधि राईको आरोप छ ।

गाउँपालिकाले एक नं. प्रदेश सरकारको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २०७६ माघ-२६ गते बोलपत्र (टेन्डर) आह्वान गरेको थियो । रु तीन करोड ६९ लाख ८५ हजार ८७३ मा टेन्डर आह्वान गरिएको भवन ठेकेदार कम्पनीले रु दुई करोड ६८ लाख ४३ हजार ३४६ मा कामको जिम्मा लिएको हो ।

निर्माणाधीन प्रशासनिक भवनको ७० प्रतिशत काम बाँकी हुँदा रु ३९ लाख ९० हजार ७५३ भुक्तानी लिइसकेको गाउँपालिकाको कार्यालयले जनाएको छ । भवन निर्माणमा ढिलासुस्ती र लापरवाही हुनुका साथै काम पनि गुणस्तरीय नभएको गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेलले बताउनुभएको छ ।

वि.सं. २०७७ माघ-१९ गते निर्माण सम्पन्न गर्नुपर्ने १६ कोठा भएको तीनतले सुविधासम्पन्न निर्माणाधीन प्रशासनिक भवनको लागि सम्झौता भएको थियो । तर, समयमा काम नसकिएपछि २०७८ असारसम्म म्याद थपिएको थियो ।

आरसिसी ढलानसहितको निर्माणाधीन प्रशासनिक भवनको पहिलो तला ढलान गरेर दोस्रो तलाका लागि तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ । प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरवाही देखिएसँगै गाउँपालिकाले नै पत्राचार गरेर निर्माणको काम रोकेपछि अहिले उक्त भवन अलपत्र बनेको छ ।

तपाईको प्रतिक्रिया