काठमान्डौं, २३ असोज । सुदुरपश्चिम प्रदेशका काँग्रेस नेताहरु मुख्यमन्त्री फेर्नुपर्ने भन्दै प्रधानमन्त्री निवास वालुवाटार पुगेका छन् । शनिबार सुदुरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता नेता रणबहादुर रावलको नेतृत्वमा नेताहरु वालुवाटार पुगेका हुन् ।
उनीहरुले बाग्मती प्रदेश र प्रदेश नम्बर-१ को मुख्यमन्त्रीमा काँग्रेसले दावी नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टिसमेत पोखेका थिए । नेता रावल नेतृत्वको टोलीले प्रदेश-१ र बाग्मती प्रदेशमा काँग्रेसले नेतृत्व नलिए सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री लिनुपर्ने भन्दै ध्यानाकर्षण गरेका थिए । अहिले सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् ।
उनले केही महिनाअघि मात्रै बिश्वासको मत लिएका थिए । उनले बिश्वासको मत लिँदा नेकपा एकीकृत समाजवादीको सांसद मात्रैले पनि पर्याप्त भएको थियो । नेपाली काँग्रेसका सांसदहरु भने उनले बिश्वासको मत लिँदा तठस्थ बसेको थियो ।
५२ सांसद रहेका सुदुरपश्चिममा नेकपा एसको १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेको १० र अन्य दलका २ सांसद रहेका छन् ।