-भीम राई
कम्युनिष्ट आदर्शले भौतिकवादलाई आत्मसाथ गर्छ । आध्यात्मिक चिन्तनलाई पराजित गर्दै द्धन्द्धवादी दृष्टिकोण राख्नु माक्र्सवादी विश्व दर्शन हो । यसलाई कम्युनिष्टहरुले स्वीरकारेका हुन्छन् । माक्र्सवादले ऐतिहासिक द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणको व्याख्खा गरेको छ । यसर्थ माक्सवाद मान्नेहरुले ऐतिहासिक द्धन्द्धात्मक भौतिकवाद स्वीकार गर्दछन् । भौतिकवाद स्वीकारेकाले कम्युनिष्ट बनेका हुन् । सबै कम्युनिष्टहरु भौतिकवादी हुनै पर्दछ । तर, सबै भौतिकवादीहरु कम्युनिष्ट नै हुनुपर्छ भन्ने भने रहँदैन । अर्थात सबै कम्युनिष्ट माक्र्सवादी हुन् । सबै माक्र्सवादी कम्युनिष्ट होइनन् ।
माक्र्सवादले भौतिकवादको व्याख्या गर्ने क्रममा एउटा विषयको उठान गरेका छन् । पदार्थ कि ! चेतना अगाडि ? पदार्थ भन्नेहरुले भौतिकवादलाई स्वीकार गरेका छन् र चेतना भन्नेहरुले आध्यात्मवादलाई मानेका छन् । अर्थात पदार्थ देखिने वस्तु हो । जस्तो प्रकृतिमा भएका सम्पूर्ण देखिने वस्तुहरु मुल विषय हुन् । अभौतिक अर्थात आध्यात्मवाद भनेको परिकल्पना हुन् । नदेखिने कुराहरु, भनिआएको र बनाइ आइएका कुराहरु आध्यात्मवादको मुल दर्शन हो । वस्तु छ र त्यसमाथि विचार र चिन्तनद्धारा दृष्टिकोण निर्माण हुन्छ र विकास सम्भव छ । परिवर्तन हुन्छ । खोला छ र पुल बन्छ । माटो छ र बाटो बन्छ । जमिन छ र भवन बन्छ । प्रकृति छ र चिन्तन जन्मन्छ । सार यहि हो ।
हुन त यहिबेला यी कुराहरु लेखिरहँदा विषय र प्रसङ्गहरु मोडिन सक्दछन् । यतिबेला हामी नेपाली समाजमा चलि आएका चाडपर्वहरुबीच रमाइरहेका छौँ । यहि चाडपर्वकै सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा नेतृत्वहरुमा देखिएको रुढीग्रस्त चिन्तनले लेख्न बाध्य बनाएको छ ।
यसमा लेखिएको यी विषयहरु कुनैपनि जाति समुदायले मनाउँदै आएको पर्वहरुमाथि लक्षित नभएको विनम्रताका साथ आग्रह गर्दछु । सबै जाति समुदायको धार्मिक तथा साँस्कृतिक पर्वहरुप्रति उत्तिकै सम्मान व्यक्त गर्दै नेपाली समाजको रुढीग्रस्त चिन्तन र यो चिन्तनलाई प्रोत्साहित गर्ने राज्यव्यवस्था, यो मुलुकका आफूलाई कम्युनिष्ट क्रान्तिकारी हुँ भन्ने नेता कार्यकर्ताहरुप्रति भने मेरो गम्भिर प्रश्न कायमै छ ।
प्रसङ्गलाई लम्बे ताँत लगाउन पहिले राज्यले सिर्जना गरेको रुढीवादी चिन्तनको कुरालाई अगाडि प्रश्न छ । नेपालमा बसोबास गर्ने सबै चाड तथा पर्वहरु किन बडा हुन सकेनन् ? दशैँ बाहेक अरु चाडहरु सबै छोटा अर्थात साना किन बनाइए ? यसलाई पछिल्लो समयमा सविस्तार गरौँला ।
कुरा बडा भनिएकै दशैँको बेलामा कम्युनिष्ट आदर्शका पात्रहरु जसलाई नेता तथा नेतृत्व भनेर मानिन्छ उहाँको चिन्तनमाथिको हो । एक त राज्यले विभेद गरेको छ । दशैँ बडा भएकाले सबैले शुभकामना दिनैपर्ने र लिनैपर्ने । यो मात्र होइन सेवासुविधा छुट्टीसमेत राज्यले दिएकै छ ।
यसमाथि शुभकामना दिने कम्युनिष्ट पार्टीका विभिन्न सङ्गठनका नेताहरुले सामाजिक सञ्जाल तथा विभिन्न रेडियो, अडियो, टेलिभिजनहरुमा दिएको शुभकामना सन्देश हेर्दा, सुन्दा अचम्म लाग्दछ । कम्युनिष्ट पार्टीका विभिन्न तहको कमिटीहरुको तर्फबाट नेतृत्वले दिएको शुभकामनाको शब्दहरु ः बडादशैँ २०७८ कोबाट शुरु हुन्छ । कतै विजया दशमी २०७८ पनि नसुनिएको भने होइन । (यसका बारेमा पनि पछि फरक विषयमा आउनेछ ) यस पछि सिधै भनिन्छ दुर्गाभवानीको आशिर्वादले मुलुकको राजनीतिक स्थायित्व÷स्थिरता प्रदान गरुन् ।
यी माथिका कुरा सुन्दा मिठास त लाग्छ । तर, दुर्गाभवानीको आशिर्वादले नै राजनीतिक स्थायित्व तथा स्थिरता प्रदान गर्ने भएको भए किन त्यत्रो राजनीतिक विद्रोह र आन्दोलनहरु हुनु पर्ने ? कम्युनिष्ट हुँ भन्ने नेताहरुको दुर्गाभवानी प्रतिको दृष्टिकोण के हो ? भौतिकवादले दुर्गाभवानी मान्छ ? कि मान्दैन ? आशिर्वाद र भाग्यवादले परिवर्तन सम्भवछ ? छ भने किन दुख गर्ने ?
अर्को दीपावलीको कुरा गरौँ । शुभ दीपावली ! दीपावली चाही तिहारमा गरेको दीपावली शुभ हुने अरुबेला अशुभ हुने हो र ? लक्ष्मीले बास गरेपछि धन आर्जन भइहाल्ने हो भने किन खोल्नु हौ कलकारखाना ? किन गर्नु उद्योग धन्दा ? लक्ष्मीमाता हुन् कि ! दिदीबहिनी हुन् ? कसरी शुरु भएको साईनो सम्बन्ध ? यी सबै प्रश्नका जवाफ जो कम्युनिष्ट नेताहरुले यस्ता अभिव्यक्ति तथा कार्य गर्नु भएको छ, उहाँहरुले कार्यकर्ता तथा शुभचिन्तकहरुलाई दिनैपर्छ ।
कम्युनिष्ट विचारको राजनीति गर्छु भन्नेले माक्र्सवादलाई मान्नुपर्छ भनेर हिँडदै गर्दा यस्ता ससाना प्रश्नहरु उठ्छन् । सिद्धान्तलाई व्यवहारमा लागू गर्न सकिन्न भने भ्रम छरेर आम मान्छेलाई अझबढी दिग्भ्रमित बनाउन मिल्दैन । कम्युनिष्ट पार्टीको सदस्यता देखाएर ऐतिहासिक द्धन्दात्मक भौतिकवादको खिल्ली उडाउन मिल्छ र ?
आध्यात्मवादलाई स्वीकार गर्ने हो भने कम्युनिष्ट पार्टीमाथि गरिने गद्धारीमात्र हो । यसले कम्युनिष्ट पार्टीलाई सहि दिशातर्फ लैजान सक्दैन । केवल ढोँगी र रुढीवाद ग्रस्त समाजको स्थपनामात्र गर्दछ । भगवान भरोसाले सर्वहारा, श्रमिक, किसान, मजदुर लगायतका आम श्रमजीवि जनताको मुक्तिको खातिर आन्दोलन उठ्दैन ।
भाग्यवादले गिजोलिएको नेपाली समाजलाई समाजवादी क्रान्तिको निम्ति तयारी बनाउन अब नेपालमा भएका आफूलाई मुलधारका कम्युनिष्ट पार्टीका नेता हुँ भन्ने सबैले रुढीवादी चिन्तन, कुसँस्कार, र कुरीतिहरुलाई तोड्नु पर्दछ । यसका लागि ससाना विषयहरुमा माक्र्सवादी दृष्टिकोण र दर्शनहरुबारे प्रशिक्षित गर्न सक्नु पर्दछ । पहिले आफूलाई रुपान्तरित गरेरमात्र अरुलाई परिवर्तनको दिशामा लैजान सकिन्छ । अन्यथा भ्रम हो । भ्रमहरु विस्तारै खुल्दै जानेछन् ।
लालसलाम !