हमालले देखाए कमाल : तीन दिन अगाडि सफथ तीन दिनपछि राजीनामा

Halesi Khabar
0 Shares

हलेसी खबर

काठमाडौं, २४ असोज । नेपाल सरकारको भर्खरै नियुक्ती पाएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले तीन दिनपछि नै कमाल देखाएका छन् । तीन दिन अगाडि प्रधानमन्त्ती शेरबहादुर देउवाको शिफारिसमा राष्ट्रपति मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पाएका हमालले आईतबार राजीनामा दिएका हुन् ।

शुक्रबार दिउँसो मन्त्री नियुक्त भएका हमालले सोही दिन साँझ साढे ७ बजे मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरे । पदभार ग्रहण गरेसँगै व्यापक आलोचनाको घेरामा परेका हमालले शनिबार एकदिन मज्जाले मन्त्री बने । आईतबार उनले आलोचनाको सामाना गर्न नसकेपछि राजीनामा दिएका हुन् । दिनको हिसाबले तीन दिन मन्त्री भएका हमाल घण्टाको हिसाबले भने मन्त्री पदमा ४० घण्टा हारहारी मात्रै रहेका छन् ।

उद्योग मन्त्रालयको इतिहासमा जम्मा एउटा मात्र निर्णयपछि पद गएका एकमात्र मन्त्री हमाल भएको सो मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ पछि छोटो मन्त्रिपरिषद् बैठकमा सहभागी भएर साँझ साढे ७ बजे पदभार ग्रहणका लागि हमाल मन्त्रालय पुगेका थिए । मन्त्रालयका दुई जना सचिव, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु तथा मातहतका कार्यालयका प्रमुखहरुले उनको स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दा उनले कोभिडका कारण नवीकरण गर्न छुटेका उद्योगहरुलाई म्याद थप गर्ने निर्णयमा हस्ताक्षर गरेको मन्त्रालयका वाणिज्यतर्फका सचिव दिनेश भट्टराईले जानकारी दिए । पदभार ग्रहणपछि आइतबारका लागि मन्त्रालयमा मन्त्रीको महाशाखागत ब्रिफिङ हुने जानकारी मन्त्रीलाई गराइएको थियो ।

शनिबार हमाल लगानी बोर्ड सदस्यको हैसियतमा बोर्डको ४८ औं बैठकमा सहभागी भएका थिए । मन्त्रालयले मातहतका सबै महाशाखाहरुलाई आइतबार ब्रिफिङका लागि सूचना पनि जारी गरेको थियो तर मन्त्री हमाल ब्रिफिङका लागि कार्यालय नआउँदै पदबाट बाहिरिए ।

तपाईको प्रतिक्रिया