खोटाङ, ३१ असोज । खोटाङमा बाला झुलेर पाक्न लागेको धानमा शनिबार बेलुकादेखी आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबाली लगायत विभिन्न नगदेबाली तथा परम्परागत बालीहरुमा क्षती पुगेको हो ।
पछिल्लो समय पहाडमा हावाहुरी र वर्षाका कारणले परम्परागत कृषि तथा नगदेबालीहरुमा क्षती हुदै आएको छ । जिल्लाका सबैजसो किसान दशैंमा टीकाको दिनमा व्यस्त भए पनि आइतबार बिहान धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट काम नै नलाग्ने गरी ढलेको कृषकहरुले बताएका छन् ।
गएराती परेको भारी वर्षा र हावाहुरीका कारण धानवालीमा क्षती भएको तर कहाँ-कहाँ क्षती भयो भन्ने बारे एकिन तथ्याङ्क उपलब्ध नभएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।