काठमान्डौ, ३१ असोज । नेकपा एमालेमा महासचिव भएर १५ वर्ष पार्टीको नेतृत्व गर्नुभएका माधवकुमार नेपालको नयाँ पार्टी अभियान भने नकारात्मक मोडतिर गएको छ । सैद्धान्तिक, वैचारिक मतभेद नभई एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको व्यक्तिगत ‘इगो’का कारण जबरजस्ती बनाइएको नेकपा (एकीकृत समाजवादी)को दुई महिना नपुग्दै लगालिंग अवस्थामा पुगेको छ । पार्टीमा उत्साह त छैन नै एमालेको नेतृत्वमा रहँदा असाध्यै क्रियाशील रहने नेपालको अभियान निराशाजनक छ ।
गत भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको नेकपा (एस)ले दुई महिना पूरा भएको छैन, तर युवा र क्रियाशील नेताहरु पार्टीमा फिर्ता भइरहेका छन् । एमाले केन्द्रीय कार्यालय स्रोत भन्छ- ‘छिट्टै शीर्ष नेताहरु नै फर्किनुहुन्छ ।’ जस्तो कि, एमालेबाट राजीनामा दिएका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापामगरले नेकपा (एस) छाडिसक्नुभएको छ ।
प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादी)बाट बिदा लिएको घोषणा गर्नुभयो । उहाँ नेकपा एस सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको थियो । उहाँले माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै समाजवादीको साथ छाडेको बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। बिदा ।’
अखिल फोर्सका संयोजकसमेत रहनुभएका आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाही एमालेमै फिर्ता हुनुभएको छ । उहाँलाई एमाले अनेरास्ववियुको सचिवको जिम्मेवारी दिइएको छ । शाहीको फिर्ताले माधव नेपाललाई साथ दिएको तेस्रो पुस्ता पनि निराश छ ।
नेकपा (एस) काभ्रेकी उपसचिव एवं अनेरास्ववियुका भक्तकुमारी लामा पनि एमालेमै फर्कनुभएको छ । उहाँ लामो समयदेखि माधव नेपाल समूहमा हुनुहुन्थ्यो । त्यसो त माधव नेपाल समूहमा रहेका ५७ केन्द्रीय नेता १० बुँदे सहमति गरी एमालेमै बसेका थिए । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किनुभएको छ । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा हुनुहुन्थ्यो । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोड्नुभएको हो । उहाँका बुवा पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसमा रहनुभएको छ ।
नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन । ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिवालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो ।
यो समाचार पाथीभरा डेल्ली डटकममा प्रकाशित छ ।