एमालेले ल्यायो संगठन निर्माणको आक्रामक योजना, कात्तिक ६ मा देशभरका वडामा यसरी छान्दैछ नेतृत्व


काठमाडौं,१ कात्तिक । बिधान महाधिवेशनलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) महाधिवेशनको तयारीमा जुटेको छ । एमालेले यहीकात्तिक ६ गते देशैभरका वडामा एकै दिन अधिवेशन गरी महाधिवेशनको तयारीलाई तीब्रता दिन लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनताटाइम्स् डटकमलाई दिनुभएको जानकारीअनुसार कात्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा एकै दिन अधिवेशन गर्ने र अध्यक्ष केपी शर्मा ओलीले भर्चुवल रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ । एमाले र माओवादी एकीकरणका नाममा करिब तीन वर्ष भन्दा बढी समय अलमलिदाँ एमालेले स्थानीय तहको नेतृत्व अन्योलमा रहेको थियो । एमाले विभाजन अघि वडा तहसम्मको कमिटी निर्माण गरेको भए पनि फेरि महाधिवेशनका लागि वडा अधिवेशन हुन लागेको हो ।

एमालेले ६ गते वडा अधिवेशन सम्पन्न गरेपछि कात्तिक ९ गते देशैभर पालिका अधिवेशन गर्नेछ । त्यसपछि जिल्ला र प्रदेश कमिटीको अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको महाधिवेशन मंसिरमा हुँदैछ । एमालेले वडातह देखिनै नेतृत्वमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेको छ ।
जनता टाइम्स डटकम ।

तपाईको प्रतिक्रिया